देशभरी बाला चतुर्दशी पर्व मनाइदै

चितवन, १३ मंसिर । आज बाला चतुर्दशी, चितवनको देवघाट सहित देशका विभिन्न तीर्थस्थलमा भक्तजनहरुको भीड लागेको छ । मार्ग कृष्ण चतुर्थीका दिन मनाइने यस पर्वमा आजका दिन बिहानै स्नान गरेर ‘सतविज’ छर्ने चलन छ ।
यस दिनको विशेष महत्व भनेको ’सतविज’ छर्नु हो । मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि आजको दिन अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि वेणीधामहरुमा आज सतविज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ । सतविज भन्नाले पितृ उद्धारसँग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् । यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ ।
सतविज छर्ने चलन ठाँउअनुसार आ–आफ्नै खालका रहेको पाईन्छ र माथी उल्लेख गरिए बाहेकका अन्य अन्नहरू जस्तैः चना, तील, मकैहरुका साथै कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा पनि राख्ने चलन रहेको छ । यसरी सतविज छर्नका लागि चर्तुदशीभन्दा एकदिन अगाडिनै अर्थात त्रयोदशीकै दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै अनि भजन किर्तन गर्दै आँखा झिमिक्क नपारी भोलीपल्ट विहानै स्नान गरेर चोखोनितो गरी सतविज भर्ने गरिन्छ । यसरी पृथ्वीलोकमा छरिएको सतविज पितृहरुको लोकमा गएर अंकुरण हुने र यिनै विजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।
यसैबीच, बाल चतुर्दशीको पूर्वसन्ध्यामा आइतबार विभिन्न संघसंस्थाको सहयोगमा देवघाटमा सरसफाई गरिएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजना एवम् जुनियर अधिकृत प्रहरी शिक्षालय भरतपुर, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारी, देवघाटका विभिन्न राजनीतिक दलहरु र देवघाटका विभिन्न संघसंस्थाको सहयोगमा वेणी संगमस्थलमा सरसफाई गरिएको हो । त्यस्तै, वेणी संगमस्थलमा तीर्थयात्री बस्नका लागि टेन्टको व्यवस्था गरिएको छ । कालीगण्डकी नदी र त्रिशुली नदीको संगमस्थलमा रातभरी उज्यालो बनाउनको लागि बत्तीको व्यवस्था गर्दै नेपाल विद्युत प्राधिकरणलाई लोडसेडिङ नगर्न अनुरोध गरिएको देवघाट क्षेत्र विकास समतिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।
देवाघाटमा बाला चतुदर्शी स्नान गर्दै सतविज छर्नका लागि चितवन, नवलपरासी, देवघाट, रुपन्देही, मकवानपुर, गोरखा, लमजुङसहित देशका विभिन्न जिल्लाबाट हजारौँ तीर्थयात्री आउने गरेका छन् । सोमबार देवघाट स्नान गर्दै सतविज छर्नका लागि आइतबारदेखि नै देवघाट क्षेत्रमा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको थियो । देवघाट क्षेत्रमा रातभरी भक्तजनहरु बस्ने भएकाले सुरक्षाको विशेष प्रबन्ध मिलाइएको क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
देवघाटमा माघे सङ्क्रान्ति स्नान गर्नका लागि वर्षेनि पाँच लाख भन्दा बढी भक्तजनहरु आउने गरेकोमा साउन महिनाको बोलबम, ठूलो एकादशी, सूर्य ग्रहण चन्द्र ग्रहण, नयाँ वर्ष, बाला चतुर्दशी लगायतका पर्वहरुमा समेत देवघाटमा भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ । यस वर्षको वाला चतुर्दशीको दिनमा देवघाटमा स्नानका लागि एक लाख भन्दा बढी तीर्थयात्रीहरु आउने लक्ष्य सहित स्नान गर्नका लागि व्यवस्थित ठाउँ निर्माण गरिएको छ ।