बाघको आक्रमणबाट नवलपरासीमा महिलाको मृत्यु

नवलपरासी, मंसिर ११ । नवलपरासीको दुम्किवास ७ बघुवन निवासी ५१ वर्षकी अस्मती मर्साङ्गीको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय नयाँ वेलहानीका अनुसार शुक्रबाार विहान घास काट्न जंगल गएकी मर्साङ्गलिाई ११ बजेतिर विभत्स रुपमा मृत अवस्थामा जंगल गएका अन्य स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । मृतकको शव प्राथमिक स्वाथ्य केन्द्र चोरमारामा राखिएको छ ।
पछिल्लो एक महिना यता नवलपुर क्षेत्रमा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भैसकेको छ । यसअघि कावासोतीमा एक जना पुरुष र चोरमाराकी एक जना महिलाको बाघले आक्रमण गरेर मृत्यु भएको थियो ।Nawalparasi map
कावासोती, कोल्हुवा, चोरमारा, दुम्किवास, मैनाघाट, देउराली अरुणखोलालगायतका क्षेत्रमा बाघको आक्रमणको त्रासले स्थानीय पैदल र साईकलमा हिड्न छाडेका छन् ।
खासगरि जंगलको बाटो भएर हिड्नुपर्ने यी स्थानका बासिन्दाहरु बाघको त्रासले कि त मोटरसाईकल कि त अन्य सवारीमा मात्रै हिड्ने गरेको मैनाघाटकी स्थानीय अम्बिका भुषाले बताईन् ।
ईलाका प्रहरी कार्यालय नवलपुरका डिएपी राजेश थापाले बाघको आक्रमणले नवलपुर क्षेत्रमै त्रास सृजना भएपछि चितवन राष्ट्रिय निकुञ्जलाई नियन्त्रणका लागि जानकारी गराएको बताए । तिनै ठाउँमा आक्रमण गर्ने बाघ एउटै हो कि फरक हो भन्ने यकिन हुन नसकेको थापाले बताए ।
तिहारभन्दा अघि निकुञ्जको टोलीले बाघ खोज्ने काम गरे पनि त्यसपछि कुनै वास्ता नगरेको कोल्हुवाको स्थानीय शालिकराम भट्टराईले बताए । पटक–पटक बाघ नियन्त्रणका लागि आग्रह गर्दा समेत सम्बन्धित निकायले कुनै चासो नलिएको भट्टराईको आरोप छ ।