मंसिर १९ गतेबाट भरतपुरमा आधुनिक सिटी बस सञ्चालन हुने

चितवन, ७ मंसिर । शहरीकरणसँग आधुनिक सवारीको अभाव रहेको भरतपुरमा मंसिर १९ गतेबाट आधुनिक सिटीबस संचालनमा आउने भएका छन् । भरतपुर उपमहानगरपालिका र गैंडाकोट क्षेत्रमा संचालन हुने गरी अत्याधुनिक सुविधा सम्पन्न सिटी बस भित्रिएका हुन्् ।
ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट भरतपुर उपमहानगरपालिका क्षेत्र र गैंडाकोटको विजय चोकसम्म बस सञ्चालन गर्न लागिएको कम्पनीका अध्यक्ष बद्री अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार २५ वटा बस सञ्चालनका लागि ल्याइएको छ । अब नारायणगढ आईपुगेको अधिकारीले जानकारी दिए ।
ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले बताए । city-bus-in-narayangarh-1
विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्नेका लागि नेपालमै पहिलो पटक मासिक कार्डको व्यवस्था समेत गरिएको छ । मासिक नौ सय रुपैयाँ तिरेर कार्ड लिएपछि कम्पनीका जुनसुकै बसमा जतिपटक पनि अतिरिक्त शुल्क नतिरी यात्रा गर्न पाईने छ ।
स्थानीय २५ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्राण्डका ती बस निश्चित रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । आठ करोड ५० लाख रुपैयाँको लागतमा बस झिकाईएको अधिकारीले बताए ।
बसका चालक र सहचालकलाई ट्राफिक प्रहरीका निरीक्षक र सहायक निरीक्षकले ट्राफिक नियम, यात्रुको सुरक्षा, दुर्घटनाका कारण लगायतका विषयमा तालिम दिने काम भईरहेको अधिकारीले बताए । बसका सबै सहचालक महिला राखिएका छन् । अन्य सवारीसाधन झै एकै ठाउँमा रोकि नराख्ने बताउँदै अधिकारीले तोकिएको बस स्टपहरुमा यात्रु झार्ने र ओराल्ने मात्रै गरिने हुँदा छिटो यात्रा गर्न सकिने दावी गरे । केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ ।
कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । उपमहानगरपालिकाको सहरी क्षेत्रको जनघनत्व बढे पनि व्यवस्थित यातायातको सुविधा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।