नवलपुरलाई प्रदेश तीनमै राख्न दबाब

नवलपरासी ०७ मंसिर । नेपालमा कति वटा संघीय प्रदेश रहने भन्ने विषयमा पुनः बिबाद सुरु भएको छ । सुरुमा ६ प्रदेश प्रस्ताव गरिएको भएपनि पछिल्लो समय पुनर्सरचना आयोगले ७ वटा प्रदेश रहने भनेर नेपालमा ७ प्रदेश बनाइयो ।
नेपालको संविधान २०७२ मा पनि नेपालमा सात वटा प्रदेश रहने भन्ने व्यवस्था गरियो । विभिन्न राजनीतिक दलका नेताहरुले यो प्रदेशको संख्या प्रति असन्तुष्ट जनाउँदा संघीय प्रदेशको विषयमा फेरि किचलो उत्पन्न भएको छ । संघीयतामा गएपछि शान्त रहेको प्रदेश नम्बर ४ मा यति बेला फेरि आन्दोलनको ज्वारभाटा सिर्जना हुने देखिएको छ ।
सात प्रदेश कायम गर्दा नवलपरासीको नवलपुर क्षेत्र प्रदेश नम्बर ५ मा परेका थियो भने अहिले ५ मा पार्ने खेल सुरु भएपछि नवलपुर क्षेत्रका बासिन्दाहरुले विरोध सुरु गरेका छन् । अन्न भण्डारको रुपमा रहेको नवलपुर क्षेत्रमा नवपरासीको बर्दघाटदेखि पूर्वका भागहरु पर्दछन् । नारायणी नदीदेखि पश्चिम र बर्दघाटसम्मको क्षेत्रमा पर्ने नवलपुर देशकै मध्यभागमा अवस्थित सुन्दर ठाउँ हो ।
धार्मिक, ऐतिहासिक र राजनीतिक महत्व बोकेको यस क्षेत्रलाई प्रदेश नम्बर ४ बाट नटुक्राउन स्थानीय बासिन्दाहरुले खबरदारी सुरु गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य गोकुल सापकोटाले संविधान जारी गर्दा नवलपुरलाई प्रदेश ४ मा राखिएकोले त्यसलाई चलाउन नहुने बताउँछन् । नेताहरुको खेलले यसलाई प्रदेश ५ मा पार्न लागिएकोले त्यस निर्णयलाई सच्याउन जनताहरुले दबाब दिने सापकोटाको भनाइ छ ।
अहिले सामान्य रुपमा आफूहरु आन्दोलित भएको उल्लेख गर्र्दै सापकोटाले आफूहरुको कुरा सुनुवाई नभएमा यसले व्यापक रुप लिने बताए । लोकतन्त्रमा जनता बलियो हुनुपर्ने ठाउँमा नेताहरुले मनपरी रुपमा प्रदेश टुक्राउन नपाउने सापकोटाको भनाइ छ । नवलपुर क्षेत्र प्रदेश ४ मा रहनुपर्ने भन्दै जसलाई मन लाग्यो उतै सार्न नपाउने भन्दै आफूहरुले खबरदारी सुरु गरेको सापकोटाले बताए ।
केन्द्रीकृत राज्यसत्ता हुँदा समेत नवलपुर क्षेत्रका बासिन्दाहरुलाई हेपिएकोले अब गणतन्त्रमा त्यस्तो हुन नदिन नवलपुरबासी एकजुट भएर राजनीतिक दलको विरुद्धमा उत्रिनुपर्ने गैंडाकोटका बेदप्रसाद गौंडेलले बताउँछन् । राजनीतिक भागबन्डाका कारण नवलपुरलाई प्रदेश ५ मा मिसाएर आफूहरुलाई दाङ पठाउने षड्यन्त्र हुन लागेकोले यसको विरोधमा नवलपुरबासी उत्रिएको गौंडेलको भनाइ छ । जनताको भावनालाई कदर नगरि नवलपुर क्षेत्रलाई प्रदेश ५ मा गाभ्न खोजियो भने राजनीतिक दलका नेताहरुले ठूलो क्षति व्यहोर्नुपर्ने गौंडेलले बताए ।
पहिले पनि सदरमुकाम जानको लागि नवलपुरबासीलाई दुई दिन लाग्ने अवस्था भएकोमा अब त्यो कष्टबाट छुटकारा मिल्नुपर्ने गौंडेलको भनाइ छ । नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा गाभ्दा यहाँको प्रादेशिक राजधानी दाङ पुग्ने भएकाले आफूहरुलाई सुदूरपश्चिम जत्तिकै टाढा पर्ने गौंडेलले बताए । अहिले नवलपुर क्षेत्रका जनताहरुको आवाजलाई सानो सम्झेर खेलवाड गरिएमा यसको परिणाम नेताहरुले भोग्नुपर्ने तर्फ गौंडेलले सचेत गराए ।
नवलपुर क्षेत्रका जनतालाई असुविधा हुने गरि गर्न लागिएको निर्णयलाई तुरुन्त फिर्ता लिनुपर्ने नवपुर क्षेत्रका बासिन्दाहरुको माग रहेको छ । मुलुकमा गणतन्त्र आएपछि जनतालाई सुविधा होला भन्ने सोचेको अवस्थामा झन् दुख दिने प्रयास भएको नेपाल विद्यार्थी संघ नवलपरासीका सचिव गोपाल सापकोटाले बताए । नवलपुर क्षेत्राका जनताहरुको आवाजलाई राजनीतिक नेतृत्वले सम्बोधन नगरेमा सम्पूर्ण राजनीतिक दलसहित आफूहरु आन्दोलित हुने सापकोटाको भनाइ छ ।
नवलपुर क्षेत्रमा तराई र पहाडजस्ता मन मोहक भू–भाग रहेको छ । बर्दघाट पूर्व नारायणी नदीको सिमानासम्म रहेको ३ वटा निर्वाचन क्षेत्र नवलपुरमा नै रहन दिएर यसलाई प्रदेश नम्बर ४ बाट नअग्याउनु नै नेताहरुको लागि बुद्धिमता हुने थियो । गैंडाकोट क्षेत्रबाट प्रदेश नम्बर ४ का समर्थकहरुले आगो सल्काउने काम गरिसकेका छन्, यसलाई ४ मा नै रहन दिएर आगो निभाउने काम गरिएन भने परिणाम भयावह हुनसक्ने तर्फ सम्पूर्ण राजनीतिकर्मीहरुले एक पटक सोच्नुपर्ने जरुरी छ ।