खाद्य टोलीद्धारा मुग्लिनमा अनुगमन

विनोद श्रेष्ठ

 चितवन कार्तिक ३० ।  क्षेत्रीय खाद्य तथा प्रविधि गुण नियन्त्रण कार्यालय हेटौडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय चितवन, इलाका प्रशासन कार्यालय मुग्लिन र सञ्चारकर्मीहरुको संयुक्त टोलीले मुग्लिन बजारका होटल तथा रेष्टुराहरुमा सोमबार अनुगमन गरेको छ ।
मुग्लिनमा सञ्चालित केही होटलहरु विना दर्ता सञ्चाल गरेको, मिति गुज्रिएका पेय पदार्थहरु विक्रीका लागि राखिएको र किचनको सरसफाइमा ध्यान नदिएको पाइएको छ ।mugling-anugaman

सोमबार चितवनको मुग्लिन देखि रमाइलो डाँडा सम्म विभिन्न होटल तथा खाद्य किराना पसलहरुमा अनुगमन गर्दा अधिंकांश होटलहरुले सरसफाईमा ध्यान नदिएको पाइएको, केही होटलहरु विना दर्ता सञ्चालन गरेको र केही होटलले बासी खाना बेच्ने गरेको पाइएको खाद्य प्रविधि तथा गुण निरिक्षण इकाइ जिल्ला प्रशासन कार्यालय चितवनका नविन देउजाले जानकारी दिनुभयो ।

टोलीले होटल, रेष्टुरा तथा किराना पसल गरी जम्मा १६ वटामा अनुगमन गरिएको थियो । जसमा ३ वटाले हरियो स्टिकर, ८ वटा होटलहरुले १ वटा रातो भएको स्टिकर र ५ वटा होटलहरुले २ वटा रातो भएको स्टिकर पाएको देउजाले बताउनुभयो ।

हरियो स्टिकर लिने होटलहरुले आफ्नो गुणस्तर कायम गरेको पाइएको थियो भने केही होटलहरुले गुणस्तरमा ध्यान नदिएको पाइएको हुँदा त्यस्ता होटलहरुमा न्यून स्तर जनाउने २ वटा रातो भएको स्टिकर टाँसेको थियो ।

यसरी गुणस्तर कायम राख्न सफल होटलहरुमा थ्री सिस्टर होटल, नव दुर्गा होटल र शेरचन होटल रहेका छन् भने गुणस्तरमा ध्यान नदिएर न्यून स्तरमा झरेका होटलहरुमा संगम होटल एण्ड गेष्ट हाउस, न्यू भागिरथ होटल एण्ड गेष्ट हाउस, न्यू अमित होटल, पुजा गुल्मी कालिका होटल एण्ड लज र भागिरथ होटल (पुरानो) रहेको देउजाले जानकारी दिनुभयो ।
त्यस्तै भागिरथ होटलमा करिब १५ केजी बासी खाना भेटिएको हुदा होटल सञ्चालकलाई स्पटष्टीकरणको लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको जिल्ला प्रशासन कार्यालय चितवनको बजार संरक्षण अधिकृत ओम नारायण शर्माले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमन टोलीले अनुगमनको क्रममा भेटिएका म्याद गुज्रेका पये पदार्थहरु र वासी, सडेगलेका खानेकुराहरुको नष्ट गरिएको थियो भने आउने दिनहरुमा गुणस्तरमा सुधार नगरिएको पाइएमा र दर्ता नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा  खाद्य ऐन अनुरुप कार्वाही गरिने चेतावनी समेत दिइएको थियो ।