शेष लक्ष्मी नारायण मन्दिरमा लक्ष्य अर्चना

चितवन, २७ कात्तिक । चितवनको भरतपुरमा रहेको शेष लक्ष्मी नारायण मन्दिरमा लक्ष्य अर्चना गरिएको छ ।
कात्तिक शुक्ल एकादशीको अवसर पारेर तुलसीद्वारा भगवान विष्णुको पुजा गर्नु महत्वपूर्ण भएकोले लक्ष्य अर्चना गरिएको मन्दिरका मठाधिश एवम् अध्यक्ष स्वामी पद्मनाभाचार्यले बताए । हरि बोधनी एकादशीको दिनमा हिरामोतीले भन्दा पनि तुलसी पत्रद्वारा पुजा हुँदा भगवान खुसी हुने विश्वासका साथ मन्दिरमा पुजाअर्चना गरिएको पद्मनाभाचार्यको भनाइ छ । भगवानको पुजा अर्चनाले व्यक्तिका लागि मात्र नहुने र सबैको कल्याण हुने समेत पद्मनाभाचार्यले बताए ।
देशमा शान्ति होस्, सबै कुराहरु समयमा होस्, देशले चाँडो निकास पाओस् भन्दै आफूहरुले वर्षेनि हरि बोधनी एकादशीको दिनमा लक्ष्य अर्चना गर्दै लक्ष्य दिप समेत प्रज्ज्वलन गर्ने गरेको पद्मनाभाचार्यले बताए । हाम्रो संस्कार र संस्कृतिलाई हामीले रक्षा गरेमा देशको पहिचान समेत जोगिने बताउँदै पद्मनाभाचार्यले साउनमा योग निद्रामा रहेका विष्णु भगवान कात्तिकमा जाग्ने भएकाले पुजा गरिने परम्परा रहेको जानकारी दिए ।