राष्ट्रपति पुरस्कारबाट चितवनमा तीन जना किसान सम्मानित

चितवन, २७ कात्तिक । जिल्लामा प्रदान गरिने उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट चितवनका तीन जना कृषकहरु पुरस्कृत भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनले शुक्रवार विश्व खाद्य दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई प्रशंसा पत्र सहित नगद १० हजार रुपैयाँद्वारा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा नारायणी नगरपालिका ४ चैतन्य बस्तीका नारायण प्रसाद रेग्मी, नारायणी नगरपालिका ४ रातापुरका गिरधारी महतो र रत्ननगर १४ पिठुवाकी गीता देवकोटा रहेका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेल र जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधिर श्रेष्ठले उनीहरुलाई पुरस्कृत गरेका हुन् । नारायण प्रसाद रेग्मीले वि.सं. २०५२ सालदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका थिए । रेग्मीले रेग्मी तरकारी फर्म समेत दर्ता गरेका छन् ।
यस्तै, रातापुरका गिरधारी महतोले वि.सं. २०५४ सालदेखि व्यवसायिक तरकारी खेती सञ्चालन गर्दै छन् । बोडी, करेला, काउली, टमाटर, भेडे खुर्सानी, लौका आदि उत्पादन गर्दै आएका महतोले यस वर्ष प्राप्त गरेको राष्ट्रपति पुरस्कारले आफुलाई थप हौसला प्रदान गरेको बताए । महतोका अनुसार सुरुमा तरकारी खेति गर्दा उनले मात्रै उक्त क्षेत्रमा व्यवसायिक प्रयोजनका साथ तरकारी खेती गरेका थिए । पछि अरु व्यक्तिले पनि आफ्नो बारीमा आएर तरकारी उत्पादन बारे सोध्ने, सिक्ने गरेर तरकारी खेति गरेको देख्दा खुसी लाग्ने महतोको भनाइ छ ।
यस्तै, पिठुवाकी गीता देवकोटाले व्यवसायिक मौरी पालन गर्दै आएकी छन् । वि.सं. २०५२ सालबाट मौरी पालन व्यवसाय सञ्चालन गरेकी देवकोटाको मौरी फार्ममा करिब दुई सय वटा मौरीका घारहरु रहेका छन् । मेलिफेरा जातका मौरी पाल्दै आएकी देवकोटाले मौरीको चरण क्षेत्रको अभावले मौरी पालन व्यवसायमा चुनौती देखापरिरहेको बताइन् ।