कोरियाली उद्योगीलाई चितवनमा स्वागत

चितवन, २६ कात्तिक । चितवन उद्योग संघले कोरियाली उद्योगी एवम् व्यवसायीलाई कार्यालयमा स्वागत तथा अभिनन्दन गरेको छ ।
दक्षीण कोरियाको हायन गोन्जु सहरका डाक्टर जोन सेन र नेपालबाट कोरियामा गएर उद्योग सञ्चालन गरेका रुद्र शर्मालाई संघले स्वागत गरेको हो । स्वागतका क्रममा कोरियन उद्योगी जोन सेनले चितवनमा बन्न लागेको प्रदर्शनी स्थलको लागि सहयोग गर्ने बताए । नेपालको हरेक क्षेत्रमा विकास होस् भन्ने कोरियाले समेत चाहेको उल्लेख गर्दै जोन सेनले नेपालको विकासमा आफूहरु साझेदार हुन चाहेको बताए ।
कोरियाले ५० वर्षको अवधिमा विकासमा ठूलो छलाङ मारेको उल्लेख गर्दै इच्छाशक्ति भएको खण्डमा विकास गर्न सकिने जोन सेनको भनाइ थियो । चितवन उद्योग संघको अगुवाइमा भरतपुरमा करिब ३० करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदर्शनी केन्द्रका बारेमा नेपाल सरकारले स्वीकृत समेत दिइसकेको छ ।
चितवन उद्योग संघका अध्यक्ष भिम प्रसाद पाण्डेले प्रदर्शनी केन्द्रको बारेमा जानकारी गराउँदै तीन वटा ब्लकमा निर्माण गर्न लागिएको बताए । प्रत्येक ब्लकमा १८ वटा स्टल रहने समेत पाण्डेले जानकारी दिए । प्रदर्शनी केन्द्रमा एउटा ब्लक चार सय वर्ग मिटरको हुने र प्रदर्शनी केन्द्र सुविधासम्मन गराउने पाण्डेको भनाइ थियो ।
पर्यटकीय हबको रुपमा चितवन विकसित हुँदै गएकोले पनि यहाँ प्रदर्शनी केन्द्रको आवश्यकता परेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । चितवन उद्योग संघको निवर्तमान अध्यक्ष समेत रहेका अधिकारीले उद्योग संघले ठूलो प्रोजेक्टमा बनाउने लागेको प्रदर्शनी केन्द्रमा नेपाल सरकार लगायत अन्य क्षेत्रबाट समेत सहयोगको अपेक्षा गरिएको बताए । कार्यक्रममा चितवन उद्योग संघका द्वितीय उपाध्यक्ष राजु पौडेलले प्रस्तावित प्रदर्शनी केन्द्रको बारेमा जानकारी गराएका थिए । चितवन उद्योग संघका अध्यक्ष भीम प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य राखेका थिए ।