आज एकादशी मनाइदै

चितवन, २६ कात्तिक । हिन्दु धर्माबलम्वीहरुले आज ब्रतबसी हरिबोधिनी अर्थात् ठूली एकादशी पर्व मनाउदै छन् ।

कात्तिक शुक्ल पक्षको एकादशीका दिन भगवान् विष्णु निद्राबाट जाग्ने हिन्दु धार्मिक विश्वास भएकाले आजका दिन ब्रत बसेर भगवान विष्णुको पुजाआरधना गर्ने गरिन्छ । साउन महिनामा योगनिद्रामा गएका भगवान् विष्णु आजैका दिन जाग्ने धार्मिक मान्यता छ । यस दिनमा भगवान् विष्णुलाई प्रसन्न गर्नका लागि विशेष उपाय गर्दा भक्तहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ । हिजो र आज एकादशी परेपनि हिजो सूर्याेदयलाई दशमीले छोएकाले धेरैले आजको दिनलाई ठूलो एकादशीको रुपमा मनाउँदै छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले दुवै दिन एकादशी परेकाले आफ्नो परम्परा अनुसार व्रत लिन सकिने बताएका थिए । हरिबोधिनी, प्रबोधिनी वा ठूलो एकादशी भनिने यो एकादशीमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गर्ने परम्परा छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा सुतेका भगवान विष्णु हरिबोधनी एकादशीमा बिउँझन्छन् भन्ने धार्मिक मान्यता छ ।

यो दिनमा चितवनको देवघाट, नारायणगढको नारायणी नदी किनार, काठमाडौंका इंचगु, विशंखु, शेषनारायण, चाँगुनारायण लगायतका विष्णु मन्दिरमा भक्तजनको घुईंचो लाग्नुका साथै तुलसीको विवाह गर्ने चलन छ । एकादशीको अवसर पारेर चितवन, नवलपरासी सहित देशका विभिन्न स्थानहरुमा मेला समेत लाग्ने गरेको छ । असार शुक्ल एकादशीमा रोपेको तुलसीरुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहको रुपमा लिने गरिएको छ ।

अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ । आज साँझ तुलसीको मठमा गाईको शुद्ध घिउ भएको दियो बाल्ने र ऊँ वासुदेवाय नमः मन्त्रको उच्चारण गर्दै तुलसीको ११ चोटि परिक्रमा गर्ने गरिन्छ । भगवान् विष्णुसँगै देवी लक्ष्मीको आराधना गरेमा धनलाभ हुने विश्वास छ ।