एकादशीमा ज्ञानेश्वरमा मेला

चितवन, २४ कात्तिक । ज्ञानेश्वर युवा समाज मंगलपुले ठूली एकादशीको अवसर पारेर चौथो एकादशी मेला गर्ने भएको छ ।
कात्तिक २५ र २६ दुई दिन ज्ञानेश्वर सामुदायिक वनको वनभोज स्थलमा आयोजना गरिएको मेलामा विभिन्न सांगीतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ । एकादशी मेलाको बारेमा जानकारी दिन बुधबार नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुधन पौडेलले सांगीतिक प्रस्तुती अन्तर्गत ख्याती प्राप्त कलाकारहरुले गीत गाउने बताए । उक्त मेलामा गायकहरु प्रजापति पराजुली, पशुपति शर्मा, तिलक बम बल्ल, सुनिल गिरी, शंकर थापा, पुजा सुनुवार, सरु राई, सशांक कंडेल, हास्यकलाकार सुनिल सन्दिप क्षेत्री, डिजे ब्रदर्श लक्ष्य व्याण्ड तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
उक्त मेलामा सांगीतिक प्रस्तुतीका साथै गाउँमा नै उत्पादन भएको विभिन्न खानाका परिकार, व्यावसायिक कम्पनीका स्टलहरु समेत राखिने आयोजकले बताएको छ । महोत्सव सम्पन्न गर्नको लागि चार लाख रुपैयाँसम्म खर्च लाग्ने आयोजकको अनुमान रहेको छ भने महोत्सव स्थल प्रवेशको लागि ५० रुपैयाँ टिकेटको व्यवस्था भएको जनाइएको छ ।