गणेशमानको जन्म जयन्ती मनाइयो

चितवन, २४ कात्तिक । सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय २ औं जन्मजयन्ती नेपाली कांग्रेस र कांग्रेस निकट भ्रातृ संस्थाहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएका छन् ।
विक्रम संवत् २०४६ सालका जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको सालिकमा बुधबार विहान माल्यार्पण गरिएको छ । शोभाभगवतीमा रहेको सालिकमा माल्यार्पण गरिएको हो । चितवनमा पनि नेपाली कांग्रेस चितवनले गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा हाम्रो घर नामक सडक बालबालिका पुनस्र्थापना केन्द्रमा सहयोग गरेको छ । यस केन्द्रमा आश्रीत २२ जना बालबालिकाहरुलाई आवश्यक पर्ने खाद्ययान्न सामग्रीहरु सहयोग गरिएको हो ।
नेपाली कांग्रेस चितवनका जिल्ला सचिव राजिव न्यौपानेका अनुसार चामल, आलु, लगायतका अत्यावश्यक सामग्रीहरु केन्द्रलाई प्रदान गरिएको छ । कार्याक्रममा बोल्दै नेपाली कांग्रेस चितवनमा सभापति जित नारायण श्रेष्ठले नेपाली राजनितिमा स्वर्गिय गणेशमान सिंहको भुमिका उल्लेख्य रहेको बताएका छन् । गरिब जनताहरुको छोराछोरीहरुले पनि पढ्न पाउनुपर्छ भन्दै गरिबहरुको अधिकारको लागि लड्ने व्यक्तित्व गणेशमान सिंह भएको श्रेष्ठको भनाई छ ।
श्रेष्ठका अनुसार राणाले गर्ने ज्याजतिको विरुद्ध समेत बहस र विद्रोह गर्ने सक्ने गणेशमान जनताका प्रिय नेता पनि हुन् । अन्य नेता तथा राजनितिज्ञ भन्दा पृथक व्यक्तित्व भएको गणेशमान त्याग र समर्पणको प्रतिमुर्ति भएको श्रेष्ठले बताएका छन् । गणेशमानको जन्मजयन्तीको अवसरमा सामाजिक कार्य गर्ने उद्येश्यले हाम्रो घरमा आश्रीत बालबालिकाहरुलाई खाद्यान्न सहयोग कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस चितवनका अध्यक्ष जित नारायण श्रेष्ठको भनाई छ । यस हाम्रो घर संस्थामा ५ जना बालिका सहित ६ वर्ष उमेरदेखी १८ वर्ष उमेरसम्मका २२ जना बालबालिकाहरु आश्रीत छन् ।
संस्थाकी सचिव मीना खरेलका अनुसार संस्था स्थापना भएपछि हालसम्म ४८ जना सडक बालबालिकाहरुलाई केन्द्रले आश्रय दिइसकेको छ । ति मध्ये २५ जना बालबालिकाहरुको परिवारसंग पनि पुनर्मिलन भइसकेको खरेलले जानकारी दिएकी छन् । खरेलका अनुसार अभिभावक विहिन, अभिभावक भएर पनि पारिवारिक माया ममताको अभाव झेलेका, द्धन्द्ध, गरिबी, आदि विभिन्न कारणले बालबालिकाहरु सडकसम्म आइपुग्ने गरेका छन् ।
एकपटक सडकमा आएर दुव्र्यशनीमा फसेपछि समाजले आंफुलाई स्वीकार गर्दैन भन्ने सोचाईले पनि कतिपय सडक बालबालिका परिवारमा पुनर्मिलन हुन नमान्ने गरेको खरेलले बताएकी छन् ।