महासंघको गम्भीर ध्यानाकर्षण

चितवन, २४ कात्तिक । नेपाल पत्रकार महासंघ चितवनका सदस्य एवम् चितवन पोष्ट दैनिकका उपसम्पादक किशोर खनाललाई २०७३ कात्तिक ३ गते अवकाश पत्र दिइएको भन्दै निष्काशन गरिएकोमा नेपाल पत्रकार महासंघ चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
20161109_170236पत्रिका सम्पादन गर्ने काममा सामान्य त्रुटि भएको विषयलाई पत्रिकाको तर्फबाट सम्पादक धर्मराज अर्यालले स्पष्टिकरण सोधिएकोमा पत्रकार खनालको मौखिक स्पष्टिकरणप्रति व्यवस्थापन पक्ष सन्तुष्ट नरहेको भन्दै कामबाट निष्काशन गरिएको महासंघद्वारा बुधबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । पत्रकार खनाललाई पेशाबाट निष्काशन गरिएपछि महासंघको तर्फबाट सरोकारवाला पक्षसँग छलफल गर्दा खनाललाई निष्कासन नै गर्नुपर्ने कारण नदिएको समेत विज्ञप्तीमा जनाइएको छ । पत्रकार खनाललाई २४ घण्टे स्पष्टिकरण भन्दै पेशाबाट निकालिएको विषय श्रमजीवि पत्रकारसम्बन्धी ऐन २०५१ र श्रमजीवि पत्रकारसम्बन्धी नियमावली २०५३ विपरित भएको महासंघले निष्कर्ष निकालेको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष हरिप्रसाद पोखरेलद्वारा बुधबार जारी विज्ञप्तीमा आजको मितिले तीन दिनभित्रमा चितवन पोष्ट दैनिकको व्यवस्थापन पक्षले खनाललाई पुनर्वहाली गराउनुपर्ने माग राखेको छ । विज्ञप्तीमा भनिएको छ, –‘उहाँलाई स–सम्मान आफ्नो पेशामा पुनर्वहाली नगरेमा थप आन्दोलनका कार्यक्रम तय गरी महासंघ कडा संघर्षमा उत्रने चेतावनी दिन चाहन्छ ।’ यसअघि चितवन पोष्ट दैनिक व्यवस्थापनसँग महासंघको श्रमजीवि पत्रकार समस्या समाधान समितिले पत्रकार खनाल र विभिन्न पेशागत संघसंगठनका प्रमुखहरुको रोहवरमा समस्या समाधानका लागि छलफल गरेकोमा व्यवस्थापन पक्ष सहमतिमा नआएपछि महासंघ संघर्षमा जान बाध्य भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, –‘श्रमजीवि पत्रकारको समस्या समाधानका लागि समग्र पत्रकारहरुलाई महासंघको अभियानमा सरिक हुन हामी हार्दिक आह्वान गर्दछौँ ।’ नेपाल पत्रकार महासंघ चितवन शाखाद्वारा जारी गरिएको विज्ञप्तीलाई नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ, प्रेस रजिष्ट्रारको कार्यालय सूचना विभाग काठमाडौँ, प्रेस काउन्सिल नेपाल काठमाडौँ र चितवन पोष्ट प्रकाशन प्रालि नारायणगढ चितवनलाई बोधार्थको रुपमा समेत पठाइएको छ ।