चौतारी सहकारीद्धारा विभिन्न विधामा सम्मान

चितवन, २२ कात्रिएक । चौतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले असल ऋणी, उत्कृष्ट बचतकर्ता, कान्छो शेयर सदस्य र दैनिक बचतकर्तालाई सम्मान गरेको छ ।

संस्थाको पाँचौं साधारण सभाको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा असल ऋणीतर्फ दिपक खड्का, केदारबहादुर मगर, र डिल्लीराम महतोलाई सम्मान गरिएको संस्थाका अध्यक्ष कृष्ण पुरीले जानकारी दिए ।

यस्तै संस्थाको उत्कृष्ट बचतकर्तामा कृति देवकोटा, आयुष सुवेदी र मोनिस सापकोटालाई सम्मान गरिएको उनले बताए । सोही अवसरमा कान्छो शेयर सदस्य शिशिर पुरी र दैनिक बचतकर्ताद्वय गीता नेपाल र सरिता पियालाई पनि सम्मान गरिएको अध्यक्ष पुरीले बताए । उनीहरुलाई सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य मंगलराम दराई र अन्य अतिथिको हातबाट दोसल्ला र प्रशंसापत्रद्वारा सम्मान गरिएको उनले बताए ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै संस्थाका उपाध्यक्ष विष्णु कँडेलले संस्थाको स्थापनाकालदेखि हालसम्मको बारेमा जानकारी गराएका थिए । जम्मा ६२ जना शेयर सदस्यहरुबाट सुरु गरिएको उक्त संस्थामा हाल ६२४ जना शेयर सदस्यहरु रहेको उनले बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका निमित्त प्राचार्य दराईले सहकारीको नीति नियमअनुसार चलेका सहकारी संस्थाहरुको भविष्य सुनौलो भएको बताए ।

जिल्लामा सैयौंको संख्यामा सहकारी संस्थाहरु सञ्चालनमा आएपनि कतिपय सहकारी संस्थाहरु सहकारीको नीति नियमअनुसार चल्न नसक्दा बन्द हुनुपरेको उनले बताए ।

यस्तै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले सहकारीको उदय नै चितवनबाट भएको स्मरण गराउँदै सहकारीले जनताको लागि सेवामुखी काम गर्नुपर्ने बताए । कार्यक्रममा सस्थापक अध्यक्ष खेम पाण्डे,निवर्तमान अध्यक्ष विष्णुवहादुर लोहनी,छिमेकी सहकारीहरुका प्रतिनिधीहरु लगायतले वोल्नुभएको थियो ।