स्थानीय तह निर्माणको चेपाङद्वारा विरोध

चितवन, २२ २२  कार्तिक । चितवनमा स्थानीय तह सात वटा हुने गरी अहिलेका सबै गाविसलाई हटाई एक महानगरपालिका र ६ वटा नगरपालिका बनाउने प्रस्तावको नेपाल चेपाङ संघ जिल्ला कार्य समिति चितवनले विरोध गरेको छ । chepang-2-800x445
संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्टि सार्वजनिक गरेको हो । संघका पूर्वअध्यक्ष एवं पूर्वसांसद गोविन्द चेपाङले ८० प्रतिशत चेपाङको बसोबास रहेको सिद्धि, लोथर र कोराक गाविसलाई मिसाएर छुट्टै झोर्लाङ गाविस बनाइनुपर्ने माग गरे । धादिङ र मकवानपुुर जिल्लामा चेपाङ बाहुल्य गाविसहरु मिसाएर चेपाङको पहिचान झल्कने गरी गाउँपालिका सिफारिस भइसकेको उनले जानकारी दिए ।
उनका अनुसार, धादिङको जोगीमारा, धुसा, महादेवस्थान र बेनीघाट मिसाएर रोराङ गाउँपालिका तथा मकवानपुरको काँकडा, खैराङ, भार्ता र सरिखेत गाविस मिसाएर राक्सीराङ गाउँपालिका प्रस्ताव गरिएको छ । कूल जनसंख्याको ४० प्रतिशतभन्दा बढी चेपाङ बसोबास गर्ने चितवन जिल्लामा चेपाङको पहिचान कायम हुने गरी गाउँपालिका प्रस्ताव नहुनु दुःखको कुरा भएको पूर्वसांसद चेपाङले बताए । चितवनमा सिद्धि, लोथर र कोराक गाविस मिसाएर झोर्लाङ गाउँपालिका प्रस्ताव गरिनुपर्छ भन्ने आफूहरुको माग रहेको चेपाङको भनाइ छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार, नेपालमा चेपाङको कूल जनसंख्या ६८ हजार नौ सय ९९ रहेको छ । चितवन जिल्लामा २९ हजारभन्दा बढी चेपाङको बसोबास छ । स्थानीय तह पुनर्संरचना गर्दा अल्पसंख्यक आदिवासी चेपाङको पहिचान र अस्तित्व नमेटिने गरी गर्नुपर्ने संघले जनाएको छ । चेपाङ संघ चितवनले यसअघि स्थानीय तह पुनर्संरचना आयोगलाई पत्र पठाई चितवनमा चेपाङको पहिचान झल्कने गरी गाउँपालिका कायम गरियोस् भनी अनुरोध गरेको थियो । उक्त पत्रको बोधार्थ जिल्लामा रहेका १३ वटा पार्टीलाई समेत दिइएको थियो ।