लक्ष्मी जयन्तीमा दुई कृति सार्वजनिक

चितवन, १४ कात्तिक । चितवनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८औँ जन्म जयन्ती मनाइएको छ । देवकोटा बन्धु समाज जिल्ला शाखा चितवनको आयोजनामा आइतबार भरतपुरमा देवकोटाको जन्म जयन्ती मनाइएको हो ।
देवकोटाको जन्म जयन्ती समारोहमा देवकोटाको बारेमा लेखिएको पुस्तक समेत विमोचन गरिएको छ । सह प्राध्यापक डाक्टर धनेश्वर भट्टराईद्वारा लेखिएको ‘देवकोटाका महाकाव्यमा सामाजिक चेतना’ विषयक समालोचना तथा रामचन्द्र देवकोटाद्वारा लेखिएको ‘जीवन भोगाई’ पुस्तक आइतबार विमोचन गरिएको हो । कार्यक्रमका वक्ताहरुले देवकोटाको व्यक्तित्व तथा कृतिमाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा डाक्टर धनेश्वर भट्टराईद्वारा लेखिएको ‘देवकोटाका महाकाव्यमा सामाजिक चेतना’ माथि टिप्पणी गर्दै समालोचक पूर्ण प्रसाद अधिकारीले नेपाली साहित्यमा सबैभन्दा बढी पढिएका व्यक्ति देवकोटा भएको बताए ।
नेपालमा लेखिएका सबै कृतिहरु एकातिर र देवकोटाले लेखेका कृतिहरु एका तिर राख्ने हो भने पनि देवकोटाका कृतिहरुको महत्व बढी रहेको अधिकारीले बताए । देवकोटाको विषयमा ११ जना भन्दा बढी व्यक्तिहरुले विद्यावारिधी हासिल गरेका तथा नेपाली र विदेशीले समेत देवकोटाका बारेमा धेरै ठाउँमा लेखेको अधिकारीले बताए । कार्यक्रममा समीक्षक केदारनाथ खनालले रामचन्द्र देवकोटाको ‘जीवन भोगाई’ पुस्तकमाथि चर्चा गर्दै महाकवी लक्ष्मी प्रसाद देवकोटा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व भएको बताए ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालय नेपाली विभागका प्रमुख प्राज्ञ प्राध्यापक डाक्टर महादेव अवस्तीले महाकवी देवकोटालाई सबैले उपयोग गरेका तर उनलाई पर्दा पागल भनेर उपेक्षा गर्ने गरेको उल्लेख गरे । अवस्तीले समेत देवकोटाको बारेमा विद्यावारिधी गरेका थिए । देवकोटा सरल स्वभावका व्यक्ति भए पनि नेपाली साहित्यमा ठूलो योगदान गर्दै नेपाली साहित्यलाई फराकिलो बनाउने काम गरेका अवस्तीले बताए । कार्यक्रममा डाक्टर बालकृष्ण थापा, वैजनाथ देवकोटाले महाकवी देवकोटामाथि कविता प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा लेखक द्वय सह प्राध्यापक डाक्टर धनेश्वर भट्टराई, रामचन्द्र देवकोटाले आफ्नो कृतिको बारेमा उठेका प्रश्नहरुको जिज्ञासा मेटाएका थिए । देवकोटा बन्धु समाज जिल्ला शाखा चितवनका अध्यक्ष रामचन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष केशव देवकोटाले स्वागत मन्तव्य राखेका थिए ।