वागिश्वरीमा सामुहिक गाई पूजा

चितवन, १४ कात्तिक । चितवनमा सामुहिक रुपमा गाई पुजा गरिएको छ । भरतपुर उपमहानगरपालिका वडा नम्बर १ वागिश्वरीमा रहेको योगी नरहरि नाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामुहिक गाई पुजा गरिएको हो ।
img_0975

कार्यक्रममा भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे प्रमुख अतिथि रहेका थिए भने चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेल, क्षेत्र नम्बर ४ का सांसद रामकृष्ण घिमिरे, समानुपातिक सांसद गीता वाग्ले, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । हिन्दूहरुको महान् पर्व लक्ष्मी पुजाको अवसरमा आयोजित सामुहिक गाई पुजा कार्यक्रममा चितवन, नवलपरासी तथा तनहूँका हिन्दू धर्मावलम्बीहरुले गाईको पुजा गरेका थिए ।
हिन्दू संस्कृति अनुसार गाईलाई लक्ष्मीको प्रतिकको रुपमा पूजाआजा गरिदै आएको छ । गौ संरक्षण केन्द्रले स्थानीय जातका गाईहरुको संरक्षण गर्दै आएको छ भने त्यहाँका गाईको खानाका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् । गौ संरक्षणमा सहयोग पु¥याउने व्यक्तिहरुलाई गौ पुजाको अवसर पारेर आइतबार भूमि सुधार मन्त्री पाण्डेबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले हामीले हाम्रो संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै स्थानीय जातका गाईहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए । आधुनिकतासँगै स्थानीय जातका गाईहरु लोप हुँदै गएकोमा चिन्ता गर्दै मन्त्री पाण्डेले स्थानीय जातका गाईको अहिले संरक्षण नगरेमा यीनीहरुको बारेमाबारेमा किताबमा मात्र पढ्न पाइने बताए । संविधानले समेत हिन्दू धर्म र संस्कृतिको संरक्षण गर्न नसकेको उल्लेख गर्दै मन्त्री पाण्डेले हामीलाई हाम्रो धर्म, संस्कृति, देशका जातजातिहरुलाई एक ढिक्का बनाएर लैजाने संविधानको जरुरी भएको बताए ।
गणतन्त्रणमा बहुमतको कदर हुनुपर्ने भएपनि त्यस्तो नभएको उल्लेख गर्दै बहुमतको माग हिन्दु राज्य भएपनि त्यो हुन नसकेको पाण्डेको भनाइ थियो । ९० प्रतिशत ॐकार परिवारको व्यक्ति नेपालमा बसोबास गर्दै आएको भएपनि दलहरुले गणतन्त्रमा बहुमतको कदर नगरेको मन्त्री पाण्डेले बताए । कार्यक्रम केन्द्रका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य शान्ता प्रसाद पोखरेलले गरेका थिए ।