वागिश्वरी आश्रममा वृहत सरसफाई

भरतपुर, १२ कात्तिक । लक्ष्मी पूजाको पूर्वसन्ध्यामा चितवनको भरतपुरमा रहेको वागिश्वरी आध्यात्मीक परिषद् योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा वृहत सरसफाई गरिएको छ ।
कात्तिक १४ गते केन्द्रमा सामुहिक गाई पूजा गरिने भएको कारण आध्यात्मीक परिषद् वरिपरीको क्षेत्रमा सरसफाई गरिएको केन्द्रले जनाएको छ । स्थानीय जातका गाईको संरक्षण गर्दै आएको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा केन्द्रका पदाधिकारी, जुनियर प्रहरी अधिकृत शिक्षालयका क्याडेट, जलदेवी सामुदायिक वनका प्रतिनिधिहरु सहितको टोलीले सरसफाई गरेको हो । वागिश्वरी आध्यात्मीक परिषद् क्षेत्रमा रहेको तीन दशमलब दुई हेक्टर बनलाई धार्मिक वनमा परिणत गरि गौ संरक्षणको लागि जिल्ला वनले समेत सहयोग गरेको छ ।

हिन्दु धर्म परम्परा अनुसार लक्ष्मी पूजाको दिनमा गरिने सामुहिक गौ पुजा कार्यक्रममा भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे प्रमुख अतिथि रहने भएकाले समेत उक्त गौ पुजामा सम्पूर्ण भक्तजनहरुलाई वागिश्वरी आध्यात्मीक परिषद्मा उपस्थितिको लागि गौ संरक्षण केन्द्रले अनुरोध समेत गरेको छ । आश्रमले स्थानीय जातका दुई सय भन्दा बढी गाईहरुको संरक्षण गर्दै आएको छ ।

स्थानीय जातका गाईहरु लोप हुँदै गइरहेको अवस्थामा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले गाईको संरक्षण गर्न गौ बाटिका समेत निर्माण गरेको केन्द्रका अध्यक्ष टंकनाथ पौडेलले बताए ।