खेलकुदको विकासको लागि ऐन ल्याउने तयारी

अानन्द पाेखरेल
चितवन, १२ कात्तिक । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले खेलकुदको नीतिगत परिवर्तनको लागि चाँडै नै ऐन ल्याउने तयारी भएको बताएका छन् ।
बिहीबार भरतपुरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रीपालीले नीतिगत परिवर्तनको लागि ड्राफ्ट बनिरहेको र यसलाई चाँडै नै सदनमा लैजाने बताए । १५ वर्षे खेलकुदको गुरु योजना निर्माणको कामा अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उक्त गुरु योनजा लागू भएपछि देशको खेलकुद क्षेत्रले मुहार फेर्नमा आफू विश्वस्त रहेको मन्त्री श्रीपालीको भनाइ थियो ।
खेलकुदको विकासको लागि स्पोर्टस् युनिभरसिटी, स्पोर्टस् भिलेज, स्पोर्टस् एकेडेमी निर्माणको तयारीमा मन्त्रालय लागेको श्रीपालीले बताए । खेलकुद क्षेत्रमा आर्थिक अभाव भएको भन्ने कुराहरु भ्रम भएको उल्लेख गर्दै मन्त्री श्रीपालीले बजेटमा समस्या नभएर काम गर्ने इच्छा शक्ति र जनशक्तिको उचित प्रयोग हुन नसकेको बताए ।
नेपाललाई खेलकुदको माध्यमबाट विश्वमा चिनाउन सकिने खेलकुद मन्त्री श्रीपालीले बताए । सरकारले खेलकुदको विकासका लागि दीर्घकालिन योजना बनाउन नसक्दा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरु रित्तो हात फर्किनु परेको श्रीपालीको भनाइ थियो । खेलाडीको सहि तरिकाले व्यवस्थापन गर्न नसक्नु, खेलाडीलाई प्रोत्साहन गर्न नसक्नु, भौतिक पूर्वाधार कमजोर हुनुका कारण नेपालको खेल क्षेत्र अस्तव्यस्त भएको मन्त्री श्रीपालीले बताए । खेल क्षेत्रमा देखिएका सबै कमजोगरीको राम्रो व्यवस्थापन गर्न सकेको अवस्थामा खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल पाउन सक्नेमा श्रीपाली विस्वस्त छन् ।
सकारले भारतीय राष्ट्रपति नेपाल भ्रमणमा आउने दिनलाई लक्षित गरेर कात्तिक १७ गते दिएको विदामा विरोध गर्नु नहुने भन्दै मन्त्री श्रीपालीले सरकारी निर्णयको बचाउ समेत गरेका छन् । सरकारले दिएको सार्वजनिक विदाको विषयलाई लिएर चौतर्फी बिरोध भैरहेको बेलामा अब यो निर्णय सरकारले उल्टाउँछ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री श्रीपालीले सरकारले कुनै पनि राष्ट्र प्रमुख आउने बेला गर्ने सम्मानको शैली भएकोले यसमा बिरोध गर्न नहुने बताए ।