मोरङलाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा

चितवन, ११ कात्तिक । चितवनको नारायणगढमा सञ्चालन भैरहेको १२औँ विकास रनिङ शिल्डमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको पहिलो सेमी फाइनलमा त्रिभुवन आर्मी क्लबले मोरङ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । तीन वटा विभागीय टिम सहभागी भएको विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता २०७३ मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको फुटबल टिम प्रि क्वाटर फाइनलबाटै बाहिरिएका थिए ।
त्रिभुवन आर्मी क्लबको जितको लागि दोस्रो हाफको २१ मिनेटमा सन्तोष तामाङले एक गोल र २२ औँ मिनेटमा राजु तामाङले एक गोल गरेका थिए । अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा राजुले गोल गर्दै आर्मीलाई २–० को अग्रता दिएका थिए । निकै नै प्रतिष्पर्धात्मक खेलमा मोरङ फुटबल क्लबका दुई वटा खेलाडीले पहेँलो कार्ड खाएका थिए ।
प्रतियोगिताको म्यान अफ दि म्याच हुँदै त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगिता अन्तर्गत कात्तिक १२ गते मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लब काठमाडौँबीच अन्तिम सेमी फाइलन हुँदैछ ।
कात्तिक १२ गते विजयी हुने टिमले उपाधिको लागि कात्तिक १४ गते दिउँसो त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ । विजेताले तीन लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उप विजेताले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनुपर्नेछ ।