नारायणगढ–मुग्लिङ सडक विस्तारमा वर्ष दिन ढिलाइ

चितवन, कात्तिक ११ । नारायणगढ–मुग्लिङ सडकको विस्तार-स्तरोन्नति कार्य तोकिएको समयभन्दा एक वर्षले ढिलाइ हुने भएको छ । देशको सबैभन्दा व्यस्त राजमार्ग समयमा सम्पन्न नहुँदा यात्रुहरूले आर्थिक वर्ष ०७४-७५ को चैतसम्म सास्ती भोग्नुपर्ने भएको छ ।

अहिलेकै गतिमा काम भए मुग्लिङ–नारायणघाट सडक विस्तार अर्को चैतमा मात्रै सकिने
०७४ वैशाखसम्म सक्ने लक्ष्य थियो : १६ महिना (१० असार ०७२) अघि विस्तार-स्तरोन्नति थालिएको नारायणगढ–मुग्लिङ सडक आयोजना आउँदो वैशाखमा सम्पन्न गर्ने लक्ष थियो । गत वर्ष भारतले गरेको नाकाबन्दीका कारण इन्धन अभावले निर्माणमा ढिलाइ भएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । ‘यसबाहेक आयोजना विस्तारका लागि आवश्यक ढुंगा, गिट्टी, बालुवाको अभाव तथा समयमा जग्गा प्राप्ति नहुनुले पनि ढिलाइ भयो,’ उनले भने ।Mugalina 2
चार महिना म्याद थप, आठ महिना थप्ने तयारी
नारायणगढ–मुग्लिङ सडक योजनाले ०७४ साउनसम्मका लागि चार महिना म्याद थप गरिसकेको छ, अझै आठ महिना म्याद थप्ने तयारी भइरहेको व्यवस्थापन पक्षले जानकारी दिएको छ । थपिएको अवधिमा आयोजना सम्पन्न गरेरै छाड्ने आयोजना व्यवस्थापनको दाबी छ । त्यस्तै, सरकारले चालू आर्थिक वर्षमा उच्च प्राथमिकता दिएर डेढ अर्ब रुपैयाँ विनियोजन गरेको छ । ‘प्राकृतिक र अन्य समस्या नभएमा यो विनियोजित बजेट खर्च गर्छौ,’ आयोजना प्रमुख यादवले भने ।
विस्तार कार्यमा ६ वटा निर्माण कम्पनी संलग्न
नारायणगढ–मुग्लिङ (स्तरोन्नति गरिने) सडकखण्डको कुल लम्बाइ ३३ किलोमिटर छ । उक्त सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार र स्तरोन्नति गरिँदै छ । पहिलो १० किलोमिटर सडकको विस्तारमा भारतको बिएलए र नेपालको श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडाले गरिरहेको छ । त्यस्तै, बीचको ११ किलोमिटरमा भारतको उडहिल कम्पनी र नेपालको लामा कन्स्ट्रक्सन कम्पनी संलग्न छन् । अन्तिम १२ किलोमिटर खण्डको निर्माण भने भारतको सुप्रिम कन्स्ट्रक्सन र नेपालको रौटाहा कम्पनीले निर्माण गरिरहेका छन् । तीनवटै खण्डमा भारत र नेपालका एक–एक निर्माण कम्पनीले संयुक्त उपक्रम गरी सडक स्तरोन्नतिको काम जिम्मा लिएका हुन् ।
सडकको चौडाइ ९ देखि ११ मिटरसम्मको हुने
अहिले ५ दशमलव ५ मिटर चौडाइ रहेको सडक विस्तारपछि न्यूनतम पनि ९ मिटरको हुनेछ । अधिकतम भने ११ मिटरसम्मको बन्नेछ । सडक दुई लेनको हुनेछ । आयोजना कार्यालयका अनुसार नारायणगढ बाइपासदेखि १६ किलोमिटरसम्म सडकको चौडाइ ११ मिटर हुनेछ । अति नै अप्ठ्यारो भूभाग मानिएको अन्तिम खण्डमा पनि सात मिटर चौडा बनाउने गरी काम भइरहेको छ । यत्तिको चौडाइ भएको सडकले एसियाली राजमार्गस्तर मापदण्ड पूरा गरिएको मानिने सडक विभागका प्रवक्ता दयाकान्त झाले बताए । यस सडकको विस्तारपछि नारायणगढ–मुग्लिङ सडकको यात्रा समय आधाले घट्नेछ । अहिले यसको यात्रा अवधि एक घन्टा रहेको छ । यो सडक ४० वर्षपहिले चिनियाँ सहयोगमा निर्माण भएको हो । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यस सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ ।
भारतसँगको व्यापारको ९० प्रतिशत हिस्सामा सहयोगी
नेपालले भारतसँग गर्ने व्यापारको ९० प्रतिशत हिस्सा यही सडक प्रयोग गरेर गर्ने गरेको छ । ‘भारतको कोलकाता बन्दरगाहबाट नेपाल आयात गर्ने सामान यही सडकको प्रयोग गरेर भिœयाउने गरिएको छ,’ आयोजना प्रमुख चन्द्रनारायण यादवले भने । यस सडकको विस्तारले एकातिर भारतसँगको व्यापार र दैनिक आवतजावतमा सहजता आउनेछ । सडक विभागले यो सडक मर्मतसम्भारका लागि वार्षिक ५० लाख रुपैयाँ खर्च गर्दै आइरहेको छ । विस्तार र स्तरोन्नतिपछि यो लागत घट्नेछ ।
३ अर्ब बजेट, ७५ करोड मात्रै खर्च
आयोजनाको कुल बजेट तीन अर्ब रुपैयाँ हो । जसमध्ये आर्थिक वर्ष ०७२-७३ सम्ममा ७५ करोड मात्रै खर्च भएको छ । यो कुल लागतको २५ प्रतिशत हो । अझै आयोजना सम्पन्न गर्न दुई अर्ब २५ करोड खर्च हुन बाँकी छ । ०७४ चैतसम्ममा आयोजना सम्पन्न गर्ने हो भने बाँकी रहेको (म्याद थपसमेत गरेर) १८ महिनामा दुई अर्ब २५ करोड खर्च गर्नुपर्नेछ । अर्थात् एक महिनामा १२ करोड ३६ लाखका दरले खर्च गर्नुपर्नेछ । यो आयोजनामा विश्व बैंकको दुई अर्ब ९० करोड ऋण सहयोग छ ।