भरतपुर अस्पतालको आफ्नै फार्मेसी

चितवन, १० कात्तिक । भरतपुर अस्पतालले अस्पताल हाता भित्र आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रुद्रप्रसाद मरासीनीले फार्मेसीको उद्घाटन गरेका छन् ।farmacy
स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालहरुमा आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो । भरतपुर अस्पताल भित्र सञ्चालनमा रहेको निजी औषधि पसल हटाएर अस्पतालले आफ्नो मातहतमा औषधि पसल सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले प्रदान गरेको १५ लाख रुपैयाँ र अस्पतालको लगानी गरि कुल एक करोड ५० लाख रुपैयाँमा फार्मेसी सञ्चालनमा ल्याइएको डाक्टर मरासीनीले बताए । अस्पतालले हाललाई नभै नहुने अत्यावश्यक सहित अन्य चार सय प्रकारका औषधीहरु राख्ने गरी फार्मेसी सञ्चालनमा ल्याएको हो ।
अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा औषधीहरु बिरामीहरुलाई उपलब्ध गराउने डाक्टर मरासीनीको भनाइ छ । अस्पतालले चाँडै नै करिब एक हजार दुई सय प्रकारको औषधिहरु ल्याएर बिरामीलाई सर्वसुलभ तरिकाले औषधी उपलब्ध गराउने तयारी गरेको डाक्टर मरासीनीले बताए । नेपाल सरकारले गत साउन १ गते सम्पूर्ण जिल्ला अस्पताल, क्षेत्रीय अस्पताल र केन्द्रीय अस्पताललाई आफ्नो छुट्टै फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिए अनुसार आफूहरुले फार्मेसी सञ्चालनमा ल्याएको मरासीनीले बताए ।

.