भरतपुरको यातायात सञ्जाल सुधार गर्नुपर्ने

चितवन, १० कात्तिक । नगर यातायात गुरु योजना मस्यौदा प्रतिवेदनमा जनाइए अनुसार भरतपुर उपमहानगरपालिका भित्र थप सडक निर्माण गर्नु नपर्ने देखिएको छ ।nagarpalika
भरतपुर उपमहानगरपालिका भित्र पर्याप्त मात्रामा सडक यातायात रहेको हुनाले थप सडकको आवस्यकता नरहेको परामर्शकर्ता प्राध्यापक डाक्टर पदमबहादुर शाहीले बताए । पाँच वर्षका लागि कुन सडकमा कति बजेट खर्च गर्न सकिन्छ भन्ने समेत नगर यातायात गुरु योजना अनुसार हुने भएकाले काम प्रभावकारी हुने शाहीको भनाइ छ । उक्त योजना लागू भएपछि निरन्तर रुपमा सडक व्यवस्थित गर्न मद्दत पुग्ने भएकाले नगर क्षेत्र भित्र कुनै संरचना निर्माण हुँदा समेत सडक अतिक्रमण रोकिने शाहीले बताए ।
नगर विकासको लागि सडक यातायात गुरु योजना पहिलो र महत्वपूर्ण योजना भएको उल्लेख गर्दै शाहीले सडक सञ्जाल भए मात्रै अन्य विकासका पूर्वाधार निर्माण हुन सक्ने उल्लेख गरे । भरतपुर भित्र विभिन्न सडकहरुको लम्बाई आठ सय ९० किलो मिटरको रहेकोले यसलाई चार भागमा वर्गिकरण गरेर सडक सुधारको काम सुरु गर्नुपर्ने शाहीको भनाइ छ ।
उक्त नगर यातायात गुरु योजना मस्यौदा प्रतिवेदन माथि बुधबार भरतपुरमा अन्तरक्रिया गर्दै नगर क्षेत्रलाई व्यवस्थीत गर्नको लागि गुरु योजनालाई स्वीकृत समेत गरिएको छ । भरतपुर भित्रका सम्पूर्ण सरोकारवाला प्रतिनिधिहरु सहभागी रहेको उक्त छलफल कार्यक्रममा भरतपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बरालले २४ मिटर सडक मापदण्डमा रहेका सडकलाई विस्तार गरिने बताए ।
त्यसैगरी, १६ मिटर, नौ मिटर र ६ मिटर सडकलाई मापदण्डमा ल्याएर काम अगाडि बढाउने बरालको भनाइ थियो । आजको लागि नभएर भविष्यको लागि विचार गर्दै सडक विस्तार गर्नुपर्ने भएकाले सडक मापदण्डमा पर्ने सम्पूर्ण भौतिक संरचनालाई हटाउने बरालले बताए । भरतपुर उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत आचार्यले सडक चौडा पार्दै सुन्दर नगर बनाइने बताए । योजनामा नपरेका सडकलाई सरकारबाट समेत सहयोग नहुने भएकाले यातायात योजना निर्माण गरेर सडक सुधारमा लागिएको आचार्यको भनाइ थियो । भरतपुर उपमहानगरपालिका भित्र चक्रपथको अवधारणा ल्याइएको छ भने उक्त चक्रपथको लम्बाई करिब ३८ किलोमिटर रहने अचार्यले बताए ।