चितवनको मध्यवर्ति क्षेत्र व्यवस्थापनमा निकासा हुने वजेटमा भने अहिले सम्मकै उच्च रकम निकासा हुने

प्रस्ताव सुवेदी

चितवन, ०८ कात्र्तिक । चितवन राष्ट्रिय निकुञ्जमा भित्रने पर्यटकको संख्या गत आर्थिक वर्षमा घटे संगै राजस्वमा गिरावट आए पनि मध्यवर्ति क्षेत्र व्यवस्थापनमा निकासा हुने वजेटमा भने अहिले सम्मकै उच्च रकम निकासा हुने भएको छ । जनता र वन्यजन्तुको विचको सम्वन्ध अरु सुधार गर्दै जान सहयोग पुग्ने र शून्य चोरीसिकारमा योगदान पुर्याएको भन्दै वन मन्त्री शंकर भण्डारीले विगतका वर्षहरुमा निकासा हुन नसकेको रकम समेत पठाउन निर्देशन दिए संगै थप रकम निकासा हुने भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिलाई चालु आर्थिक वर्षका लागि १० करोड ५ लाख रुपैंया वजेट निकासा भएको निकुञ्ज विभागले जनाएको छ । विभागका योजना प्रमुख अमिर महर्जनका अनुसार मन्त्रालयमा बजेट पठाई सकिएको छ । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ११ करोड ६८ लाख ५३ हजार ७ सय १० रुपैंया मात्र राजस्व उठेको थियो । निकुञ्जको ऐनमा कुल राजस्वको ५० प्रतिशत सम्म मध्यवर्ति क्षेत्रमा संरक्षण र विकास निर्माणमा खर्च गर्न सक्ने प्रावधान छ । जस अनुसार मध्यवर्ति क्षेत्रले अधिकतम ५ करोड ८४ लाख २६ हजार ८ सय ५५ रुपैंया पाउने भए पनि अघिल्ला वर्षहरुमा थोरै निकासा भएकाले बाँकि रकम यस आर्थिक वर्षमा पठाईएको महर्जनले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्ष २०७१÷०७२ मा २४ करोड ६५ लाख २८ हजार ६ सय राजस्व संकलन भएकोमा ७ करोड ४१ लाख ६० हजार र आर्थिक वर्ष ०७०÷०७१ मा २४ करोड ६९ लाख १३ हजार राजस्व उठेकोमा १० करोड रुपैंया मात्र मध्यवर्तिमा वजेट विनियोजन भएको थियो । थप वजेटको माग गर्दै बनमन्त्री भण्डारी कहाँ नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको नेतृत्वमा पुगेको टोलीलाई उहाँले शून्य चोरी सिकारमा मध्यवर्तिका वासिन्दाले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै खर्च भएमा थप रकम समेत पठाउने आश्वासन दिनु भयो । संगै रहनु भएका वन सचिव कृष्णचन्द्र पौडेलले बन र वन्यजन्तुको संरक्षणमा मध्यवर्तिका वासिन्दाको महत्वपूर्ण योगदान रहेको भन्दै विगतका वर्षहरुमा ५० प्रतिशत भन्दा कम निकासा भएको सवै रकम पठाउने कुरामा मन्त्रालय सकारात्मक रहेको बताउनु भयो ।
मध्यवर्ति क्षेत्रमा २२ वटा उपभोक्ता समिति रहेका छन् । चितवन, नवलपरासि, मकवानपुर र पर्शा जिल्लाका ६० हजार घरधुरीका तीनलाख जनसंख्या मध्यवर्ति क्षेत्रमा वसोवास गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले सो रकमबाट मध्यवर्ति क्षेत्रमा संरक्षण, बिकास निर्माण, सिप विकास , रोजगारी, जनचेतना, संरक्षण शिक्षा लगाएतमा खर्च गरिने बताउनु भयो ।