चितवनमा डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन

चितवन, ७ कात्तिक । चितवनको रत्ननगरमा फैलिएको डेङ्गुको प्रकार छुट्याउन नमुना सङ्कलन गरिएको छ ।

रत्ननगरबाट ३० वटा नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको र थप ५० वटा नमुना अहिले सङ्कलन भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।degu

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले भरतपुर अस्पतालबाट २५ र रत्ननगर बकुलहर अस्पतालबाट २५ वटा नमुना सङ्कलन गरेर लैजाने र डेङ्गुको प्रकार छुट्याउने छ । मुख्यगरी डेङ्गुका चार प्रकार हुन्छन् । डेङ्गु–१, डेङ्गु–२ डेङ्गु–३ र डेङ्गु–४ गरेर प्रकार छुट्याइएको छ ।

नेपालमा चारवटै प्रकारका डेङ्गु पाइएको भए पनि यसपालि फैलिएको डेङ्गु कुन प्रकारको हो भनेर पत्ता लगाउन परीक्षणका लागि नमुना सङ्कलन गरिएको इपिडिमियोजोली तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बताए ।

चितवनमा भदौदेखि अहिलेसम्म दुई सय ७२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दुई सय २२ जना भने रत्ननगर नगरपालिकाका बिरामी छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म १२ जिल्लामा डेङ्गु देखिएकामा तीन सय चारजनामा सङ्क्रमण पुष्टि भएको छ ।