खर्साङलाई हराउँदै संकटा क्वार्टर फाइनलमा

चितवन, ५ कात्तिक । संकटा क्लब काठमाडौँले नारायणगढमा सञ्चालन भइरहेको १२औँ विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको खेलमा संकटा क्लब काठमाडौँले भारतको युनाइटेड फुटबल क्लब खर्साङलाई ४–२ गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । संकटा क्लबका तर्फबाट खेलकोे १३औँ र ७९ मिनेटमा विश्व अधिकारीले दुई गोल गरे, त्यस्तै खेलको २५ र ७६ मिनेटमा संकटाकै निराजन खड्काले दुई गोल गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे ।
खेलको जितसँगै संकटाले आगमी कात्तिक १० गतेको क्वार्टर फाइनल खेलमा झापा ११ सँग प्रतिष्पर्धा गर्ने भएको छ । झापा ११ ले नेपाल प्रहरीको विभागीय टोलीलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।
शुक्रबारको खेलमा भारतको युनाइटेड फुटबल क्लब खर्साङका तर्फबाट खेलको ८४ र ८९ मिनेटमा सुजय गुरुङले दुई गोल गरेका थिए । शुक्रबारको खेलमा प्रतियोगिताको म्यान अफ दि म्याच घोषित हुँदै संकटा क्लबका निराजन खड्काले १० हजार रुपैयाँ पुरस्कार हात पर्न सफल भएका छन् । शनिबार दिउँसोको खेल भने हिमालयन शेर्पा काठमाडौँ र सिक्किम ११ भारतबीच हुने आयोजकले जनाएको छ ।