वक्तृत्वकला प्रतियोगितामा ६३ वर्षीया जोशी पहिलो

चितवन, ५ कात्तिक । नारी अभ्युदय केन्द्र नारायणगढले महिला जेष्ठ नागरिक वक्तृवकला प्रतियोगिताको आयोजना गरेको छ । ‘जीवन एक अनुभूति’ शीर्षकमा केन्द्रले आफ्नो रजत महोत्सवको अवसर पारी प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा ६३ वर्षकी मायादेवी जोशी पहिलो भएकी छन् । प्रतियोगितामा ७२ वर्षकी देवमाया श्रेष्ठ दोस्रो र ६३ वर्षकी गंगा पोखरेल तेस्रो भएका छन् । प्रतियोगिताको अवसरमा ६० वर्ष उमेरदेखि ८८ वर्ष उमेरसम्मका ३५ जना महिला जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
ज्येष्ठ नागरिकहरुलाई समाजका दर्पणको रुपमा लिने गरिन्छ । उनीहरुको विचार र जीवन भोगाईबाट सिक्नुपर्ने जीवन उपयोगी कुराहरु पनि धेरै हुन्छ । ज्येष्ठ नागरिकहरुका अनुभवहरु समाज विकास र राष्ट्र विकासमा प्रयोगमा ल्याउन सके थुप्रै उपलब्धीहरु पनि हांसिल गर्न सकिने हुंदा प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा सहभागी भएका महिला जेष्ठ नागरिकहरुले आफ्नो जिवनका भोगाईहरुलाई प्रस्तुत गरेका थिए । आफ्नो जिवनको उर्जामय उमेरमा गरेका क्रियाकलापहरुलाई प्रस्तुत गरेका महिला जेष्ठ नागरिकहरुले उमेरले बुढ्यौली अवस्थामा आईपग्दा धेरै आशा अनि रहरहरुले जिवन अगाडी बढाइरहेको प्रतिक्रिया दिएका छन् । आफ्नो जिवनमा भोगेका पिडा, अशिक्षित हुंदा गुमाएका अवसर, आदिलाई समेत महिला जेष्ठ नागरिकहरुले आफ्नो जिवनको अनुभुतिको रुपमा प्रतियोगितामा प्रस्तुत गरेका थिए ।
हरेक अवसरलाई ग्रहण गर्दै असल व्यक्ति बन्न आग्रह गरेका महिला जेष्ठ नागरिकहरुले बुढाबुढी अवस्थामा पुगेको आफ्ना घरका सदस्यहरुलाई घृणाको भावले नभई माया र सद्भावको साथमा रेखदेख गर्न पनि सबैलाई आग्रह गरेका छन् । उमेरले बुढो हुंदै जांदा र शारिरीक अवस्था पनि कमजोर हुंदा आफ्नै परिवारबाट घृणित हुुनुपरेका थुप्रै उदाहरण रहेको उल्लेख गर्दै सहभागी महिला जेष्ठ नागरिकले सम्मानको भावना जेष्ठ नागरिक प्रति हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतियोगितामा साहित्यकार गायत्री श्रेष्ठ निर्णायकको भुमिकामा रहेकी थिइन् । समाजसेवी गौरीदेवी प्रधान प्रमुख अथिति रहेको कार्यक्रम गंगादेवी पियाले संयोजन गरेकी हुन् । कार्यक्रमको नारी अभ्युदय केन्द्र नारायणगढकी अध्यक्ष मन कुमारी सेनको अध्यक्षतामा सम्पन्न भएको हो ।

.