राजनीतिक दलले युवालाई हिनताबोध गराउने काम गरे : पूर्व मन्त्री बस्नेत

गैंडाकोट, ५ कात्तिक । पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपालका मुख्य राजनीतिक दलहरुले युवाहरुलाई नैरास्यता र हिनताबोध गराउने काम गरेको आरोप लगाएका छन् ।
युवासंघ नेपाल, गैंडाकोट नगरको तेस्रो अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले मुलुकमा विभिन्न बाहनामा युवालाई नैरास्यता थुपार्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पूर्वमन्त्री बस्नेतले कठिन अवस्थामा पनि युवा संघ नेपालले युवाहरुलाई आशा र उर्जा थप्ने काम गरेको दाबी गरेका छन् । १२ वर्षीय कथित द्वन्द्वले युवाहरुको भविष्य नष्ट पारेको समेत बस्नेतले बताए ।
युवाहरुलाई सहि दिशामा लैजाने भएकाले युवा संघ नेपाल पार्टीका अन्य संगठन भन्दा फरक खालको संगठन देखिने गरेको पूर्व उद्योग मन्त्री बस्नेतले बताए । युवा भनेको जीवनको महत्वपूर्ण समय लिएर बसेको उमेर समूह भएको बस्नेतको भनाइ छ । बालबालिकाले जे गरे पनि मन पर्छ, वृद्ध बुबाहरुको उमेर भनेको अनुभवमय हुने भएको तर युवाहरुको उमेर भनेको उर्जाशिल भएको बस्नेतले बताए ।
कार्यक्रममा युवा संघ नेपालका महासचिव किरण पौडेलले युवा संघमात्र नेपाली युवाहरुको सहयात्री संगठन भएको चर्चा गरेका थिए । युवा संघ नेपालका केन्द्रिय सदस्य नवराज कंडेल, बाबुराम पाण्डे पश्चिमाञ्चल ईञ्चार्ज सुवास जिसी, जिल्ला सदस्य ऋषिराम लम्साल लगायतका दर्जनौँ युवा नेताले देश विकासको मूल अभिभारा युवाहरुको काधमा आएको बताउँदै युवा संघ रहर लाग्दो र भरलाग्दो बन्दै अघि बढेको तर्क गरे ।
कार्यक्रममा नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष रोशन बहादुर गाह, पूर्व लुम्बिनी अञ्चल कमिटी सदस्य कृष्ण घिमिरे, जिल्ला सल्लाहकार तीर्थ बराल, जिल्ला सदस्य यमुनाथ आचार्य, रामुकान्त न्यौपाने, बुद्धिजिबी परिषद गैँडाकोट अध्यक्ष कृष्ण ज्ञवाली लगायतले युवाहरु विकासको सम्वाहक र भविष्यको कर्णधार भएकाले मुलुकमै सम्भावना स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।