डेंगु नियन्त्रणको लागि पत्रकारसँग अन्तरक्रिया

आनन्द पोखरेल

चितवन, ५ कात्तिक । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगको महामारी फैलिएपछि डेंगु ज्वरो व्यवस्थापन सम्बन्धी भरतपुरमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ ।
जन चेतनाको वृद्धि गर्दै डेंगु न्यूनीकरणमा पत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले शुक्रबार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर भीम आचार्यले सन् २००४ मा चितवनमा देखिएको डेंगु अहिले आएर महामारीको रुपमा फैलिएकोले केन्द्रको ध्यान चितवनमा भएको बताए । सन् २००६ मा दोस्रो पटक देखिएको डेंगु ज्वरो सन् २०१० मा महामारीको रुपमा फैलिएको थियो । सन् २०१० मा डेंगुका कारण नेपालमा पाँच जनाले ज्यान गुमाएका थिए ।
विस्तारै कम हुँदै गएको डेंगु ज्वरो पछिल्लो समय चितवनको रत्ननगरमा महामारीको रुपमा फैलिएपछि महाशाखाबाट टोली नै आएर रोग बारे खोज तथा अनुसन्धान गरेको डाक्टर आचार्यले बताए । आफूहरुको अनुसन्धानका क्रममा रत्ननगर विस्तारै सहरीकरणतर्फ उन्मुख भएको तथा नेपालकै केन्द्रबिन्दूमा चितवन भएका कारण यहाँ सबै प्रकारका मान्छेहरुको आवातजावत हुने भएकाले डेंगु फैलिएको आचार्यको भनाइ छ ।
यस वर्ष लामो समयसम्म वर्षात भइरहेको हुँदा समेत डेंगुले महामारीको रुप लिएको आचार्यको भनाइ थियो । पहिले पहिले भन्दा यस वर्ष एक महिला लामो समयसम्म मनसुन सक्रिय रहेको कारणले डेंगुले महामारीको रुप लिन सकेको आचार्यले बताए ।
चितवनमा डेंगुको लागि उपयुक्त हावापानी भएको कारण पनि यहाँको लागि डेंगु रैथाने रोग भन्दा फरक नपर्ने भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डाक्टर विजय प्रसाद पौडेलले बताए । भरतपुर अस्पतालमा दुई महिनाको अवधिमा ४९ जनामा डेंगु भेटिएकोमा अहिले १२ जनाले उपचार गराइरहेका पौडेलले जानकारी दिए ।
रत्ननगर क्षेत्रमा मात्रै दुई सय २२ जनामा डेंगु देखिएको कारण उक्त क्षेत्रमा विशेष सावधानी अपनाउँदै बकुलहर अस्पतालमा डेंगुको निशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताए । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकोले उक्त लामखुट्टेको बासस्थान नष्ट गर्नु नै डेंगु रोग नियन्त्रण गर्ने प्रभावकारी माध्यम भएको केसीको भनाइ छ ।

रत्ननगरमा डेंगु विरुद्ध सचेतना
रत्ननगर / चितवनको डेंगु प्रभावित क्षेत्र रत्ननगरमा लामखुट्टेको वासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियानको तयारीको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकू काठमाडौँको टोलीद्वारा आयोजना गरिएको अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयम्सेविका, स्वयम्सेवक र स्वास्थ्यकर्मीहरु सहभागी रहेका थिए । चितवनमा हरेक नयाँ खालका रोगहरु लाग्ने गरेको जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले डेंगु पनि चितवनमा पहिला लागेको, ठूलो रोग र तुरुन्त महामारी फैलिएको रोग भएको बताए ।
रत्ननगर नगरपालिकामा आयोजना गरिएको अभिमुखीकरणमा डेंगु चार प्रकारको हुने भन्दै रत्ननगरमा फैलिएको डेंगु कुन प्रकारको हो भनेर अनुसन्धान भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकूका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले बताए । डेंगुबाट मृत्युदर कम हुने भएपनि रत्ननगरमा यो रोग महामारीको रुपमा फैलिएकोले यसको रोकथामका लागि सबैले सहयोग गर्नुपर्ने बताए । यो रोग मान्छेबाट मान्छेमा नसर्ने भएपनि डेंगु लागेको मान्छेलाई एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेर निरोगी मान्छेलाई टोकेमा सर्ने लामिछानेले बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुदन कोइरालाले सफा पानीमा एडिस जातको लामखुट्टेले फूल पार्ने भएकोले पानी जम्न दिन नहुने बताए । घर वरिपरी प्लाष्टिकका भाँडामा, गमलामा पानी जमेको भए फाल्नुपर्ने र लामो समयसम्म पानी जम्न दिन नहुने कोइरालाले बताए । लामो सयमसम्म ज्वरो आएमा, आँखाको नानी दुखेमा, ढाड कम्मर जोर्नी दुखेमा तुरुन्त अस्पताल गएर डाक्टरलाई देखाउन समेत कोइरालाले आग्रह गरे । भरतपुर अस्पताल र रत्ननगरको बकुलहर अस्पतालमा डेंगु परीक्षणको लागि जनस्वास्थ्य कार्यालयले निशुल्क रुपमा किट उपलब्ध गराएको समेत कोइरालाले जानकारी दिए ।