विषादीमुक्त तरकारी उत्पादनमा आईपीएमको सहयोग

करुणा देवकोटा
चितवन, ५ कात्तिक । विषादी मुक्त तरकारी उत्पादनमा आई.पि.एम कृषक पाठशाला कार्यक्रमले सहयोग पुगेको कृषकहरुको भनाई छ । विषदीहरु चिन्न नसक्दा तरकारी उत्पादनमा समेत सोचे अनुसरा प्रतिफल लिन नसकेका कृषकहरुलाई पाठशालाले टेवा पुगेको हो ।
जिल्ला एकिकृत शत्रुजीव व्यवस्थापन कृषक संघको ९ औं साधारण सभामा सहभागी कृषकहरुले सो कुरा बताएका हुन् । छहारी आई.पि.एम कृषक समूहकी अश्रमिया महतोका अनुसार तरकारी उत्पादनमा आवश्यक पर्ने विषादीको मात्रा आंकलन गर्न पनि पाठशालाले सहयोग पुगेको छ । गाईको गहुंत, निमपत्ता, आरुको पात, तितेपाती, आदि मिसाएर घरमा नै विषादी बनाई तरकारीमा प्रयोग गर्ने गरेको महतोको भनाई छ ।
तरकारीको लागि आवश्यक भिटामिन समेत ३० लिटरको ड्रममा गाईको गहुंत, १ किलो पिना, १ किलो खरानी, १ किलो सग्लो गोवर, आधा लिटर जिवासु प्रयोग गरी घरमा नै बनाउने गरेको महतोले जानकारी दिएकी छन् । अन्य वालीको तुलनामा तरकारी वालीमा फाइदा बढि हुने र आई.पि.एम पद्धितीबाट तरकारी उत्पादन गरी विक्रि गर्दा ग्रहाकको चाप पनि बढि हुने आई.पि.एम पद्धतिबाट उत्पादित तरकारी विक्रिवितरण गरिरहेकी मिना लामाको भनाई छ ।
लामाका अनुसार आई.पि.एम विधिबाट उत्पादित तरकारीहरु स्वास्थ्यको दृष्टिकोणले पनि अत्यन्तै आवश्यक छ । यस जिल्ला एकिकृत शत्रुजीव व्यवस्थापन कृषक संघका हाल २ सय भन्दा बढि कृषकहरु र ७० वटा कृषक समूहहरु आवद्ध रहेका छन् । विषदी अत्याधिक मात्रामा प्रयोग हुंदा वातावरण र स्वास्थ्यमा असर पुग्ने भएकाले आई.पि.एम पद्धति सुरु गरिएको संघकी अध्यक्ष रमा ढुंगानाको भनँई छ ।
ढुंगानाका अनुसार संघमा आवद्ध कृषक तथा कृषि समूहहरुलाई वैकल्पिक मल र विषादीको उत्पादन तथा वितरण विभिन्न तालिमहरुको आयोजना भइरहेका छन् । कार्यक्रममा बोल्दै जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख कृषि विकास अधिकृत सुधिर श्रेष्ठले रसायनिक विषादीको प्रयोग नगरी उत्पादन वृद्धि गर्न सक्छौं भन्ने सन्देश प्रवाह गर्न आई.पि.एम पाठशालाहरु प्रभावकारी हुने बताएका छन् । यस संघले स्थानिय निकायहरुमा आउने कृषिको बजेटलाई कृषकको हितमा र विषदी न्यूनिकरण गरी स्वच्छ वाली उयत्पादनमा प्रयोग गर्न दवाव मुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष रमा ढुंगानाले वार्षिक निति तथा कार्यक्रम, संघका सदस्य भिमानन्न पराजुलीले आर्थिक प्रतिवेदन र सचिव सोमराज भट्राईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा जिल्ला कृषि विकास कार्यालय चितवनमा आएका नयां कार्यालय प्रमुख सुधिर श्रेष्ठ तथा वाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेलाई स्वागत गरिएको छ । यस्तै, स्वास्थय वाली उत्पादन गरे वापत उपज विक्रि केन्द्र रामपुर र बछौलीलाई पुरस्कृत गरिएको छ ।
यसैगरी, उदाहरणिय काम गरे वापत १० जना पुर्व अध्यक्ष तथा सचिव र ७ जना उत्कृष्ठ सहजकर्ताहरुलाई सम्मान गरिएको छ । संघका उपाध्यक्ष प्रेमनाथ नेपालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अधयक्ष रमा ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको हो ।