पाँचौँ जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७३ सुरु

चितवन, ०६ कात्र्तिक । भरतपुर कबर्ड हलमा पाँचौँ जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७३ सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला समिति चितवनको आयोजनामा भएको प्रतियोगितामा चितवनका विभिन्न १६ वटा डोजाङहरुको सहभागिता रहेको छ ।takendo

प्रतियोगिता अन्तर्गत १४ वर्षभन्दा मूनीका खेलाडीलाई उमेर समूह र १४ वर्षभन्दा माथिका खेलाडीलाई किलो समूहमा प्रतिष्पर्धा गराइएको संयोजक विनोद श्रेष्ठको भनाइ छ ।

जम्मा १४ वटा तौल समूहमा खेलाइएको प्रतियोगितामा जिल्ला भरीका दुई सय खेलाडीले भाग लिएको श्रेष्ठले जानकारी दिए । बिराटनगरमा हुन गइरहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी स्वरुप भरतपुरमा जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष विकास श्रेष्ठको भनाइ छ ।

यस प्रतियोगिताले खेलाडीहरुलाई निरन्तर अभ्यास गर्नको लागि थप उर्जा पुग्ने भएकाले तयारी प्रतियोगिता गरिएको श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटन गर्दै चितवन जिल्ला खेलकुद संघका अध्यक्ष गंगालाल लामाले तेक्वान्दो खेलले खेलाडीहरुलाई अनुशासित हुन सिकाउने बताए ।

खेलाडीहरुलाई सक्दो बढी खेल खेलाउँदै सक्रिय बनाउनुपर्नेमा लामाले जोड दिएका थिए । पाँचौँ जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०७३ को जुरीको रुपमा तेक्वान्दो प्रशिक्षक राधा बहादुर तामाङ रहेका छन् ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले मेडल र प्रमाणपत्र पाउने राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला समिति चितवनका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । त्यस्तै, पहिलो, दोस्रो र तेस्रो हुने डोजाङलाई समेत सिल्डको व्यवस्था गरिएको श्रेष्ठले बताए ।