टुवोर्ग विकास रनिङ शिल्डः युनाईटेड खर्साङ बिरुद्ध संकटा

bikash-2073चितवन, ५ कार्तिक । चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज शुक्रबार पनि एक मात्र खेल हुँदैछ ।

नारायणगढस्थित क्याम्पाचौरमा हुने खेलमा युनाईटेड खर्साङ फुटबल क्लव भारत र संकटा क्लव काठमाण्डौंबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा एपेक्स फुटबल क्लव कालिमपोङ भारतलाई ४–१ ले हराउँदै मोरङ फुटबल क्लव क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

खेलको ७ औं मिनेटमा सन्तोष न्यौपानेले गोल गर्दै मोरङलाई अग्रता दिलाए ।

त्यसको ७ मिनेट पछि नै मार्टिन अजयले गोल गर्दै मोरङको अग्रता दोब्बर पारे ।

खेलको २६ औं मिनेटमा एपेक्स कालिमपोङका लागि मनिष तामाङले गोल गरे ।

पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा सन्तोषलाई पुनः आकर्षक गोल गर्दै पहिलो हाफमा अग्रता ३–१ को पुर्याए ।

दोस्रो हाफको १३ औं मिनेटमा सन्तोषले पेनाल्टी मार्फत गोल गर्दै प्रतियोगितामा पहिलो ह्याट्रिक आफ्नो नाम लेखाए ।

भारतका खेलाडीले डिबक्स एरियामा सन्तोषलाई नै लडाएको थियो ।

खेलमा ह्याट्रिक गरेका मोरङका सन्तोष न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको विजेताले रनिङ शिल्ड, मेडल तथा नगद ३ लाख रुपैयाँ र उप–विजेताले ट्रफी मेडलसहित नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।