मोरङले एपेक्स फुटबल क्लबलाई हरायो

चितवन, ४ कात्तिक । चितवनमा सञ्चालन भैरहेको १२औँ विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मोरङ फुटबल क्लब विजयी भएको छ ।
मोरङले भारतको एपेक्स फुटबल क्लब कालिम्पोङलाई चार एक गोल अन्तरले पछि पारेको हो । बिहीबारको विजेता मोरङले आगामी कात्तिक ७ गते हुने क्वार्टर फाइलनमा साहारा क्लब पोखरासँग प्रतिष्पर्धा गर्नेछ । कात्तिक २ गते भएको प्रतियोगितामा साहाराले सशस्त्र प्रहरी बलको एपीएफल क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।
बिहीबारको खेलमा मोरङ फुटबल क्लबको लागि सन्तोष न्यौपानेले ह्याट्रिक गरेका छन् । सन्तोषले खेल सुरु भएको ७ मिनेट, ४५ मिनेट र दोस्रो हाफको १४ औँ मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिएका थिए । त्यस्तै मोरङको तर्फबाट खेलको पहिलो हाफको १४ मिनेटमा मारिन अजयले एक गोल गरेका थिए । तर भारतको एपेक्स फुटबल क्लब कालिम्पोङका तर्फबाट भने खेल सुरु भएको २६ मिनेटमा मौरिस तामाङले एक गोल मात्रै गरेका थिए ।
बिहीबारको प्रतियोगितामा मोरङका सन्तोष न्यौपाने म्यान अफ दी म्याच घोषीत हुँदै १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसो युनाइटेड खर्साङ फुटबल क्लब भारत र संकटा क्लब काठमाडौँबीच खेल हुने आयोजकले जनाएको छ ।