जिल्ला अधिवेशनको तयारी तीव्र

चितवन, ४ कात्तिक । नेकपा एमाले चितवनको नवौँ जिल्ला अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली चितवन आउने बताइएको छ ।
कात्तिक ६ र ७ गते पूर्वी चितवनको होटल स्टार बैंक्वेटमा हुने नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न कात्तिक ६ गते ओली आउने नेकपा एमाले प्रचार विभाग चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले समेत आफ्नो प्रतिवेदन प्रस्तुत गरेको एमाले चितवनका प्रचार विभाग प्रमुख भण्डारीले जानकारी दिए ।
जिल्ला अधिवेशनलाई मर्यादित र अनुसाशित बनाउन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्य समिति चितवनलाई परिचालन गर्ने तयारी गरिएको समेत भण्डारीले बताए । चितवनको एक सय ३६ वटै एकाइबाट प्रतिनिधि छनौटको काम सकिएको जानकारी दिए ।
बन्द सत्रमा आठौँ अधिवेशनको कार्यकालमा सम्पादन गरिएका राजनीतिक र सांगठनिक विषयवस्तुहरु समेटिएको प्रतिवेदन सहितको कार्यकालको आर्थिक प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवलगायत जिल्ला कमिटि चयन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आठौँ अधिवेशनबाट निर्वाचित कार्य समितिले चार वर्षमा पार्टि संगठन, जनजीविका, सामाजिक विकास, विकास निर्माण, नेतृत्व विकास लगायत समग्र जिल्लाको आथिक र राजनीतिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको जिल्ला अध्यक्ष जेएन थपलियाले बताए । सुरुको तीन वर्षे योजना निर्माण गरि पार्टिलाई सशक्त ढंगले अगाडि बढाउने कार्ययोजना निर्माण गरि त्यसलाई कार्यान्वयन गर्न आफूहरु सफल भएको थपलियाको भनाइ छ ।