निकुञ्जभित्र होटल सञ्चालन गर्न दिने विषयप्रति आपत्ति

चितवन, ४ कात्तिक । वन मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र होटल सञ्चालनको तयारी सुरु गरेको समाचार सार्वजनिक भएपछि संरक्षणका क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुले आपत्ति जनाएका छन् ।
वन मन्त्रालयमा बुधबार भएको पत्रकार सम्मेलनमा वनमन्त्री शंकर भण्डारीले निकुञ्जभित्र होटल खोल्ने तयारी गरेको कुरा बिहीबारका पत्रपत्रिकामा प्रकाशित भएको थियो । जैविक विविधता सरोकार समाजमा आवद्ध संरक्षणकर्मीहरुले बिहीबार जारी गरेको प्रेश विज्ञप्तीमा निकुञ्जभित्र होटल सञ्चालनको विषय सर्वोच्च अदालतमा समेत पुगेको र विस २०६९ असारपछि निकुञ्जभित्र होटल चलाउने नीति नरहेको जवाफ सरकारले सर्वोच्चलाई दिएको उल्लेख छ ।
यस्तो अवस्थामा फेरि होटल सञ्चालनको सुरुवातमा लाग्नु दुखद भएको संरक्षणकर्मीहरुले बताएका छन् । निकुञ्जभित्रका होटल बन्द हुँदा चितवनको पर्यटन क्षेत्रमा कुनै प्रभाव नपरेको र संरक्षणमा गुणत्मक प्रभाव परेको हुँदा होटल खोल्ने सोच नराख्न सरकारसँग माग गरिएको छ । निकुञ्ज स्थापनाको मुख्य उद्देश्य दुर्लभ वन्यजन्तुको संरक्षण भएको हुँदा संरक्षणमा असर पर्ने भएका कारण भित्र होटल खोल्नु उपयुक्त नहुने समाजको धारणा रहेको छ ।
पर्यटनलाई प्रथामिकता दिएर निकुञ्जभित्र होटल खोल्दा स्थानीयसँग द्वन्द्व बढ्ने अवस्था निम्तने समाजले बताएको छ । ‘निकुञ्जभित्रका स्रोत उपयोगमा स्थानीयलाई बन्देज लगाइएको छ । भित्रै होटल खोल्दा स्थानीयबीच द्घन्द्घ बढ्छ’ विज्ञप्तीमा उल्लेख छ ।