दशैंमा नारायणगढको व्यापार घट्यो

करुणा देवकोटा
चितवन, ४ कात्तिक । गत वर्षको तुलनमा यस वर्षको दशैंमा नारायणगढ बजारमा ४० प्रतिशत मात्रै फेन्सी सामग्रीहरु विक्रि भएको फेन्सी व्यवसायी संघ चितवनले जनाएको छ ।
संघका अध्यक्ष हेमराज पौडेलका अनुसार यस वर्षको दशैंमा फेन्सी सामग्रीहरुको विक्रि वितरण नारायणगढ बजारमा घटेको छ । ग्रामिण स्तरसम्म व्यवसायिक प्रतिष्ठानहरु सञ्चालनमा आउनु यसको एउटा कारण हो । यसैगरी, प्रशासनको छापामार शैलीले गर्दा फेन्सी व्यवासयीहरु दशैंमा पनि आक्रान्त भएर व्यापार गर्न बाध्य भएको पौडेलले जानकारी दिएका छन् ।
फेन्सी सामग्रीमा कोड मुल्य नराख्न चितवन प्रशासनले जारी गरेको निर्देशनलाई पुर्ण रुपमा पालना गर्न नसक्दा प्रशासनले अनुगमन गरेको थियो । पौडेलका अनुसार फेन्सी सामग्रीहरु धेरै प्रकारका हुने र त्यसमा प्रष्ट मुल्य सूचि राख्न गाह्रो हुने भएकाले कोड मुल्य राख्न प्रशासनले दिएको निर्देशन पुर्ण रुपमा पालना हुन नसकेको हो । तर पनि लगभग ८० प्रतिशत फेन्सी सामग्रीहरुमा कोडको सट्टा मुल्य सूची नै राखिसकेको पौडेलको भनाई छ ।
यस्तै, पुल्चोकमा सवारी साधनहरु रोकिन नपाउंदा पनि आफुहरुको व्यापारमा घाटा भएको फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष हेमराज पौडेलको भनाई छ । पौडेलका अनुसार नारायणगढ बजारमा तीजदेखी तिहारसम्मको समय र लगनको महिनाहरुमा ग्राहकहरुको धेरै भिड लाग्ने गर्दछ । विषेशगरी फेन्सी सामग्री खरिद गर्न युवायुवती र बालबालिकाहरुको भिड लाग्ने गरेको पौडेलले जानकारी दिएका छन् । तिहारको समयमा भने महिलाहरुले बढि सामग्रीहरु खरिद गर्ने पौडेलको भनाई छ ।
चितवनका बजारहरुमा चिन, भारत, थाइलयाण्ड, इन्डोनेसिया लगायतका देशहरुबाट फेन्सी सामग्रीहरु आयत हुने गरेको छ । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष हेमराज पौडेलका अनुसार संघमा हाल ६ सय ५० जना फेन्सी व्यवसायीहरु आवद्ध रहेका छन् । विषेशगरी नारायाण्गढ बजारका व्यवसायीहरुमात्र आवद्ध यस संघमा आगामी अधिवेशन बाट भने जिल्लाका अन्य क्षेत्रमा रहेका व्यवसायीहरुलाई पनि समावेश गराउने योजना रहेको पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार चितवन जिल्ला भर करिब ३ हजारको हाराहारीमा फेन्सी व्यवसायीहरु रहेका छन् ।