धान काटेपछि व्यावसायिक तरकारी लगाउने तयारी

करुणा देवकोटा
चितवन, ४ कात्तिक । चितवनमा वर्खे धान काट्न सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको १० प्रतिशत धान काटेर सकिएको छ ।
img_3469

समग्र जिल्लामा भने चार प्रतिशतको हाराहारीमा मात्रै धान काटेर सकिएको कार्यालयले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा धान रोपाई ढिला सुरु भएकाले पनि कटानीमा ढिला भएको हो । मंसिरको १५ सम्ममा जिल्लामा सबैजसो ठाउँहरुमा वर्खे धान कटानीको काम सकिने समेत कार्यालयले जानकारी दिएको छ ।
कार्यालयकी सूचना अधिकारी एवम् योजना अधिकृत कमला न्यौपानेका अनुसार चितवनमा यस वर्ष २७ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । चितवनको पूर्वी क्षेत्रमा वर्खे धानका लागि खैरहनी, कठार, कुमरोज, भण्डारा, रत्ननगर, पिठुवा, जुटपानी आदि पकेट क्षेत्र मानिन्छन् । पश्चिम क्षेत्रमा भने गीतानगर, पटिहानी, जगतपुर, शुक्रनगर, मेघौली, गुञ्जानगर, माडी आदि पकेट क्षेत्र हुन् ।
यस वर्ष वर्खे धानको उत्पादनकत्व राम्रो भएको, समयमा पानी पर्नु, रासायनिक मल समयमा नै कृषकहरुलाई उपलब्ध हुन र रोग व्याध कम लागेका कारण उत्पादनमा वृद्धि हुने न्यौपानले बताइन् । केही कृषकहरुको धानमा भने ‘गवारो’ तथा ‘लिफ ब्लाष्ट’ रोग देखा परेको न्यौपानेको भनाइ छ । गवारो रोग देखा परेको खेतमा पाकेको भान फोस्रो हुने गरेको पाइएको छ ।
चितवन जिल्लामा अघिल्लो वर्ष २७ हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा वर्खे धान खेती गरिएकोमा ९२ हजार छ सय ८९ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष भने धान खेती हुने क्षेत्रफल माछा पालन तथा प्लटिङमा प्रयोग भएसँगै धान खेती हुने क्षेत्रफलमा कमी भएको न्यौपानेको भनाइ छ । न्यौपानेका अनुसार यस वर्ष चितवनमा वर्खे धान अन्तर्गत सावित्री, राधा ४, लोकनाथ, रामधान, लगायतका धानहरु लगाइएको छ ।
वर्खे धान चितवनमा तराई भेगमा बढि लगाउने गरिन्छ । तराई भेगमा पनि जिल्लाको पूर्वी क्षेत्रमा असोजको दोस्रो हप्ताबाट नै अगौटे धानहरु काटेर तरकारी खेती सुरु भइसकेको छ । विषेशगरी अगौटे धान लगाउने कृषकहरुले धान कटानीसँगै व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । पछौटे धान लगाउने कृषकहरुले भने हिउँदे खाद्यान्न बालीहरु लगाउने गर्दछन् ।
हिउँले तरकारी अन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको जिल्ला कृषि विकास कार्यालय चितवनकी योजना अधिकृत तथा सूचना अधिकारी कमला न्यौपानेले बताइन् । हिउँदे खाद्यान्न बाली अन्तर्गत भने कृषकहरुले गहूँ, मुसुरो, आलु, राजमा लगाउन सुरु गरेका छन् ।