एमाले चितवनको अधिवेशनको उद्घाटन गर्न ओली चितवन आउने

चितवन, ४ कात्तिक । नेकपा एमाले चितवनको २६औँ पूर्ण बैठकमा अध्यक्ष जगन्नाथ थपलियाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीलाई अझै एक बनाएर स्थानीय निर्वाचनमा समेत आफूहरुको जीत हुनुपर्ने बताएका छन् ।
बुधबार पार्टी कार्यालयमा भएको जिल्ला कमिटि बैठकमा अध्यक्ष थपलियाले आफ्नो नेतृत्वमा चितवनका सबै राजनीतिक दलभन्दा एमाले अग्रपंक्तिमा रहेको बताए । दोस्रो संविधान सभाको निर्वाचनमा चितवनमा एमालेले सबै पार्टीलाई उछिनेर १ नम्बरको पार्टी भएको भन्दै सहयोग गर्ने सबैलाई थपलियाले धन्यवाद समेत ज्ञापन गरे । पार्टीको नवौँ अधिवेशनको लागि कात्तिक १ गते र २ गते आठ वटा नगरपालिकाका, एक सय २६ वटा नगर वडा, ८ गाविस र दुई पेशागत शाखा कमिटी गरि जिल्ला मातहतका १३६ वटा शाखा कमिटीहरु र बीस र्मोचा संगठन गरी आठ सयभन्दा बढी जिल्ला अधिवेशन प्रतिनिधि छनोट गरिसकेको छ ।
बैठकमा चालु कार्यकालको अवधिमा भएगरेका राजनैतिक, सांगठनिक प्रतिवेदन अध्यक्ष र सचिवले प्रस्तुत गरेका थिए । अनुमानित वार्षिक बजेट सहितको आर्थिक प्रतिवेदन आर्थिक विभागका प्रमुख घनश्याम भट्टराईले पेश गरेका थिए भने प्रस्तुत भएका दुवै प्रतिवेदन उपर व्यापक छलफल सहित अनुमोदन गरिएको प्रचार विभाग प्रमुख अरुण पीडित भण्डारीले जानकारी दिए । कात्तिक ६ र ७ गते रत्ननगरमा सम्पन्न हुन गइरहेको एमाले चितवनको नवौँ जिल्ला अधिवेशनलाई मर्यादित र अनुशासित बनाउन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन जिल्ला कार्यसमिति चितवनलाई स्वयंसेवकको भूमिका निर्वाह गर्न जिम्मेवारी समेत बुधबारको बैठकले दिएको छ ।
अधिवेशनको उद्घाटन कात्तिक ६ गते पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने समेत बैठकमा जानकारी गराइएको छ । बैठकको अध्यक्ष जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले गरेका थिए भने पूर्व अर्थमन्त्री एमाले नेता सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेका थिए ।

.