ट्राफिकको छड्के चेकजाँच

करुणा देवकोटा
चितवन, २ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर तथा पूर्वी चितवनका विभिन्न स्थानहरुमा मंगलवार छड्के चेकजाँच गरेको छ ।
कार्यालयले मंगलबार भतरपुरको गोद्राङ, त्रिचोक, आँपटारी, टाँडी पर्सा भण्डारा लगायतका स्थानमा चेकजाँच गरेको हो । मंगलबार भएको अनुगमनमा १ सय ६५ वटा सवारी साधनहरुको चेक जांच गरिएको थियो । सो क्रममा सिट क्षमता भन्दा बढि यात्रु बोक्ने र भाडादर नटाँस्ने ४७ वटा सवारी साधनहरु कारवाहीमा परेका छन् ।
यस्तै, रुट परमिट नभएको २ वटा सवारी चालकहरु गरी ४९ वटा सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट ७३ हजार पाँच सय रुपैयाँ जरिवाना असुल गर्न कार्यालय सफल भएको छ । चितवनका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार सवारी चालकहरुले भाडादर आफ्नो मोबाइलमा राख्ने गरेका तर गाडीमा नटाँसेका कारण सवारी चालकलाई कारबाही गरिएको हो ।
लामो रुटमा चल्ने सवारी साधनमा सिट क्षमता भन्दा बढि यात्रुहरु राख्ने गरेको तथा उनीहरुलाई समेत कारबाही गरिएको भेटवालले बताए । त्यस्ता कार्यलाई निरुत्साहित गर्न सिट भन्दा बाहिर रहेका यात्रुहरुलाई झारेर अर्को गाडीमा गन्तव्यसम्म पु¥याउने कार्य जारी राखेको राजन भेटवालले बताए । नारायणगढ–मुग्लिङको जोखिमपुर्ण बाटोको कारण हुन सक्ने दुर्घटनालाई न्युनीकरण गर्न र ट्राफिक सचेतना जगाउन पनि चेकजाँच तथा अनुगमन कार्य सञ्चालन गरिएको भेटवालले बताए ।
स्थानीय रुटमा चल्ने सार्वजनिक यातायातको समितिद्वारा आफुहरुलाई भाडादर टाँस्न जानकारी नगराउँदा जरिवाना तिर्न बाध्य भएको चालकहरुले गुनासो गरेका छन् । छाहारी यातायात समितिको बस चलाउँदै आएका चित्र लामाका अनुसार भाडादर टाँस बारे समितिसँग बारम्बार सोध्दा पनि समिति मौन रहेको छ । दिनभरमा २५ सय कमाउन पनि मुश्किल रहेको अवस्थामा समितिले भाडादर टास बारे जानकारी नगराउनु र पहिलो पटकमै अनुगमनमा सम्झाई बुझाई गरेर माफी दिनुभन्दा सुरुमै जरिवाना असुल गर्नु न्यायसंगत नभएको लामाको गुनासो छ ।
यात्रुहरुको सहजता, ट्राफिक सचेतना र दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विभिन्न ठाउँहरुमा अनुगमन, सचेतना कक्षा, छड्के चेकजाँच आदि सञ्चालन गर्दै आएको छ । मंगलबारको अनुगमनको क्रममा ट्राफिक प्रहरी, सहकारीकर्मी, अपांगता भएका व्यक्ति, पत्रकार लगायतको सहभागिता रहेको थियो ।