प्रतिनिधि छनौटको काम सकियो

चितवन, २ कात्तिक । नेकपा एमाले चितवनको नवौँ अधिवेशनको तयारी स्वरुप एक सय ३६ वटा एकाइबाट प्रतिनिधिहरु छनौट भएका छन् ।
केही गाउँ कमिटि र नगरपालिकाको वडा कमिटीमा सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको भएपनि केहीमा भने चुनावी प्रकृयाबाट प्रतिनिधि छनौट गरिएको छ । एमाले चितवनको अधिवेशनको लागि कात्तिक १ र २ गते दुई दिन लगाएर करिब आठ सय जना प्रतिनिधि छनौट गरिएको हो ।
अधिवेशनको लागि दलित तर्फ १० जना संगठित सदस्य बराबर एक, १५ जना आदिवासी जनजाति तर्फबाट एक, मजदुर संगठनका १० जना बराबर एक, १० जना मुस्लिम तथा मधेसी बराबर एक, १५ जना महिला बराबर एक र क्षेत्री ब्रह्मणलगायत अन्य जातिबाट २० जना बराबर एक जनाको अनुपातमा अधिवेशन प्रतिनिधि छनौट गरिएको नेकपा एमाले चितवनका प्रचार प्रसार संयोजक अरुण पीडित भण्डारीले जानकारी दिए ।
त्यसैगरी, नेकपा एमालेको प्रत्येक जनवर्गीय संगठनबाट अधिवेशनको लागि सिफारिस एक एक जना प्रतिनिधिको नामावली जिल्ला कमिटिमा प्राप्त भइसकेको भण्डारीले जानकारी दिए । आगामी कात्तिक ६ र ७ गते पूर्वी चितवनको रत्ननगरमा हुने अधिवेशनको लागि एमाले चितवनले तयारी तीव्र पारेको छ । अधिवेशनमा नयाँ विधान अनुसार ८४ जना कार्यसमिति रहने भएपनि सर्वसहमत रुपमा पदाधिकारी एवम् सदस्यहरु चयन गर्ने प्रयास भइरहेको नेकपा एमाले चितवनका इन्चार्ज एवम् वैकल्पिक केन्द्रीय सदस्य कृष्ण खनालले जानकारी दिए ।
नवौँ अधिवेशनमा अध्यक्षको लागि नेकपा एमालेका अध्यक्ष जगन्नाथ थपलिया र उपाध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का सांसद कृष्णभक्त पोखरेलले उम्मेदवारी दिने मनसाय बनाएका छन् । त्यसैगरी, अन्य पदमा आकांक्षीहरु धेरै देखिएको भएपनि कसैले आफ्नो उम्मेदवारी दिने सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् ।