साहाराले एपीएफलाई हरायो

चितवन, २ कात्तिक । चितवनमा सञ्चालन भएको विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै पोखराको साहारा क्लब क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
साहाराले एपीएफलाई चार शून्य गोल अन्तरले हराउँदै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । खेलको पहिलो हाफमा तीन गोल गरेको साहाराले दास्रो हाफमा एक गोल थप्दै एपीएफलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनाएको हो । साहाराको तर्फबाट शिव सुवेदीले दुई गोल, सुशील लामाले एक गोल र टागोनले एक गोल गरेका थिए ।
विदेशी खेलाडी सहितको साहारालाई खेल अवधिभरी दबाबमा राखेको एपीएफले गोल गर्ने सुनौला अवसर गुमाउँदा प्रतियोगिताबाट बाहिरिनु परेको हो । मंगलबारको खेलमा साहारा क्लबका शिव सुवेदी म्यान अफ दी म्याच घोषित हुँदै १० हजार रुपैयाँ पुरस्कार हात पारेका छन् ।
प्रतियोगिता अन्तर्गत बुधबार दुई वटा खेलहरु हुनेछन् । पहिलो खेल बुधबार बिहान मनाङ–मर्स्याङ्दी क्लब र भारतको युनाइटेड खर्साङ फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल बुधबार दिउँसो नेपाल प्रहरी क्लब र झापा ११ बीच हुने आयोजकले जनाएको छ ।