बारा तीनवटा उद्योगले प्रदूषित पानी बगाउदै आएकोमा स्थानीय जनताको विरोध

बारा १ कातिक । बारा गढीमाई नपा–८ स्थित तीनवटा उद्योगले प्रदूषित पानी श्रीसिया खोलामा बगाउदै आएकोमा यसको विरोध गर्दै स्थानीय जनताले प्रदर्शन गरेको छ । राजेश मेटल प्रालि, केवी साम आल्मुनियम प्रालि र शिवशक्ति घ्यु उद्योग अगाडि सयौंको सङ्ख्यामा स्थानीयले प्रदर्शन गरी विरोध जनाएका छन् ।bir

स्थानीय राजु यादवका अनुसार २०७१ साउन १२ गते सोमवारका दिन स्थानीय र कम्पनी व्यवस्थापकबीच खोलामा प्रदूषित पानी नफाल्ने सम्झौता भए तापनि कार्यान्वयनमा सम्बन्धित उद्योगले चासो नदेखाई आज पुनः छातापिपरा आसपासका ५ गाविसका जनता आएर प्रदूषणयुक्त पानी खोलामा नफाल्न विरोधस्वरूप प्रदर्शन गरेका हुन् ।

अर्का स्थानीय रामधनाइ बछारले कम्पनीहरूले तेजाबयुक्त पानी खोलामा फाल्दा खोला प्रदूषित भई पशु, चौपाया तथा बालीनालीलाई समेत असर पारेको गुनासो गरे । खोलामा नुहाउन गएका शिवधारी पासवानको एउटा भैंसी पनि मरेको गाउलेहरूले बताएका छन् । त्यस्तै खोलाको पानीको कारण धेरै किसानको धानबाली नष्ट हुन लागेको उनीहरूको भनाइ छ ।

स्थानीय उद्योगमा पटक–पटक ताकेता गर्दा पनि प्रदूषण नियन्त्रणको लागि कुनै नया प्रविधि वा विकल्प अघि नसार्दा जनता आक्रोशित भएको हो ।

यसैबीच केवी साम आल्मुनियम कारखानाले खोलामा पानी फाल्न स्थानीय केही अगुवाहरूलाई घूस ख्वाएर पक्की नाला निर्माण गरेकोमा प्रदर्शनकारीले सो नाला भत्काइदिएका छन् । प्रदर्शनपछि गाउले र कारखाना व्यवस्थापकबीच वार्ता भएको थियो । वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको गाउलेहरूले बताएका छन् ।