एमाले चितवनलाई चुनाव लाग्यो

आनन्द पोखरेल
चितवन, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कार्य समिति चितवनको आगामी कात्तिक ६ र ७ गते हुने जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ ।
संशोधित विधान अनुसार ८४ सदस्यीय कार्यसमितिको निर्वाचनको लागि सोमबारदेखि नगर र वडा तहबाट प्रतिनिधि छनौटको काम गरिने जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले बताए । एमाले चितवनको नवौँ जिल्ला अधिवेशनमा विभिन्न एक सय ३६ वटा एकाइबाट आठ सय प्रतिनिधि सहभागी एमाले चितवनले जनाएको छ । त्यसैगरी, पार्टीका हरेक भातृ संगठनको जिल्ला कमिटिबाट एक÷एक जना प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिन पाउनेछन् ।vlcsnap-2016-10-16-17h56m55s106
अधिवेशनका लागि १५ जना महिला बराबर एक जना प्रतिनिधि, १० जना दलित बराबर एक जना प्रतिनिधि, १५ जना आदिबासी जनजाति बराबर एक जना, मुस्लिम तथा मधेसी १० जना बराबर एक जना र क्षेत्री ब्राह्मण लगायतका अन्य जातिबाट २० जना बराबर एक जना निर्वाचन प्रतिनिधि छनौट गरिने जिल्ला अध्यक्ष थपलियाले बताएका छन् । प्रतिनिधि छनौटको काम बिबाद रहित तरिकाबाट गरिनेले एकै दिनमा जिल्ला भरिबाट प्रतिनिधि छनौट गरेर सकिने थपलियाले बताएका छन् ।
रत्ननगरको होटल स्टार बैंक्वेटमा हुने नवौँ अधिवेशनमा वर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया र जिल्ला उपाध्यक्ष एवम् सांसद कृष्णभक्त पोखरेलले अध्यक्षको लागि इच्छा देखाएका छन् । वर्तमान अध्यक्ष थपलियाले सकेसम्म जिल्लाको निर्वाचन सर्वसम्मतबाट गराउने नत्र चुनावी प्रकृयामा गएर भएपनि बिबाद रहित तरिकाबाट अधिवेशन सम्पन्न हुने बताए । अधिवेशनबाट सर्वसम्मत रुपमा आफूलाई सर्वसम्मत अध्यक्षको रुपमा स्वीकार गरिनुपर्ने भन्दै जिल्ला अध्यक्ष थपलियाले छलफल अगाडि बढाएका बताइएको छ ।
त्यस्तै वर्तमान जिल्ला अध्यक्ष एवम् सांसद कृष्णभक्त पोखरेलले दुई पटकसम्म जिल्ला उपाध्यक्षको भूमिका निर्वाह गरेको भन्दै आगामी अध्यक्षमा आफूले उम्मेदवारी दिने बताएका छन् । सर्वसम्मत हुने अवस्था आएमा प्रतिनिधिहरुबीच लोकप्रिय व्यक्तिलाई हेर्नुपर्ने भन्दै न्याय संगत तरिकाले जिल्ला अधिवेशन गर्नुपर्ने पोखरेलको धारणा रहेको छ । अध्यक्ष बाहेकका अन्य पदहरुमा भने आकांक्षीहरु धेरै देखिएपनि सार्वजनिक रुपमा उम्मेदवारी दिने घोषणा भने कसैले गरेका छैनन् ।