सामुदायिक मेलमिलाप ऐन कार्यान्वयनमा जोड

करुणा देवकोटा
चितवन, ३० असोज । सामुदायिक मेलमिलाप ऐन नियमावली कार्यान्वयन नहँुदा मेलामिलापकर्ताहरुलाई समस्या सिर्जना भएको सामाजिक मेलमिलापकर्ताहरुको गुनासो छ । मेलमिलापकर्ताहरुको प्रभावकारी अनुगमन तथा मुल्यांकन नहुनु, छिटो छिटो स्थानीय निकायमा कर्मचारी परिवर्तन भैरहनु लगायतका समस्याले सामाजिक मेलमिलापको कार्यमा असहजता भएको उनीहरुले बताएका हुन् ।
सामुदायिक मेलमिलापकर्ता समाज, चितवनको छैठौं साधारणसभाको अवसरमा बोल्दै समाज चितवन जिल्ला उपाध्यक्ष अशोक अधिकारीले नगरपालिकाको वृद्धिसँगै मेलमिलापकर्ताहरु आवश्यकता अनुसार नहुनु र भएकाहरुलाई कार्यक्षेत्र बढेकाले मेलमिलापको कार्यमा चुनौती थपिएको अधिकारीको भनाइ छ । मेलमिलापकर्ताहरुको संख्या घट्दै जानु, निष्कृय रहनु र घटेको ठाउँमा परिपुर्ति नहुनु दुखद पक्ष भएको भरतपुर उपमहानगरपालिकाका सामाजिक मेलमिलापकर्ता शैलेन्द्र पियाले बताए । पियाका अनुसार बढ्दो मुल्यवृद्धिकोबीचमा मेलमिलापकर्ताहरुले स्वयम् सेवकका रुपमा काम गर्नुपर्ने अवस्था रहेको छ ।
कार्यक्रममा बोल्दै चितवनका स्थानीय विकास अधिकारी श्रवण कुमार पोखरेलले जुन समाजमा व्यक्ति पीडित भएको छ, सोही ठाउँमा अधिकार पाउनुपर्ने व्यवस्था लागू गर्न सामाजिक मेलमिलापको अवधारणले सहयोग पुग्ने बताए । गाउँघरमा सजिलै न्याय पाउने व्यवस्था गर्न समाजिक मेलमिलापकर्ताहरुको भूमिका उल्लेख्य हुुने पोखरेलको भनाइ छ । अदालतमा गएर मेलमिलाप गराउँदा एक पक्षको जित र अर्कोको हार देखिने तर सामाजिक मेलमिलाप गर्दा दुवै पक्षको जित हुने, दिगोपनको विकास हुने पोखरेलले बताए ।
आवश्यक तालिमहरु नपाएको सामाजिक मेलमिलापकर्ताहरुको गुनासोलाई सम्बोदन गर्दै पोखरेलले जिल्ला विकास समिति चितवनले मेलमिलापकर्ताहरुको लागि आवश्यक तालिमहरु विभिन्न समयमा प्रदान गर्दै आएको जानकारी गराए । कार्यक्रममा सामुदायिक मेलमिलापकर्ता समाज नेपाल चितवनका उपाध्यक्ष अशोक अधिकारीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मान बहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सामुदायिक मेलमिलापकर्ता समाज चितवनका निर्वतमान अध्यक्ष भक्ति प्रसाद तिमिल्सेना, भरतपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत मधुराम दुवाडी, लगायतले बोलेका थिए । सामुदायिक मेलमिलापकर्ता समाज चितवनका सदस्य मोहन सिंह रानाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष सुर्य प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।