बजारको मुख्य चोकमा ई–रिक्साको भाडादर टाँसियो

चितवन, ३० असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भरतपुर उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका ई–रिक्साहरुको भडादर बजारको मुख्य ठाउँहरुमा टाँसेको छ । बजारमा बढ्दो ई–रिक्सा र ई–रिक्सा चालकले लिने महंगो भाडादरको कारण धेरै जनगुनासोहरु आउन थालेपछि कार्यलयले नयाँ भाडादर कायम गरी यात्रुहरुको सहजताको लागि विभिन्न ठाउँहरुमा टाँसेको हो ।
भरतपुर उपमहानगरपालिका भित्रमा विभिन्न १२ वटा ठाउँमा नयाँ भाडादर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए । भेटवालका अनुसार भरतपुरको चौबिसकोठी, लायन्सचोक, सहिदचोक, पुल्चोक, हाकिमचोक, मालपोत चोक, जिल्ला प्रशासन कार्यालय चोक, वीरेन्द्र क्याम्पस चोक, भरतपुर अस्पताल चोक, क्यान्सर अस्पतालको चोकलगायतका ठाउँमा नयाँ भाडादर टाँसिएको छ । ई–रिक्सा व्यवसायी, ट्राफिक प्रहरी, भरतपुर उपमहानगरपालिका, यातायात कार्यालयको प्रतिनिधि, यातायात व्यवसायीको प्रतिनिधि, विभिन्न सरोकारवाला निकायका व्यक्तिहरु लगायतको सहभागितामा भएको बैठकले नयाँ भाडादरको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई पेश गरेको थियो ।
पेश गरिएको प्रतिवेदनलाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले अनुमोदन गरेसँगै नयाँ भाडादर सार्वजनिक गरिएको हो । नयाँ भाडादर कायम गर्न सुरुमा नयाँ भाडा सार्वजनिक गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटवालले बताए । दोस्रो चरणमा अहिले विभिन्न ठाउँहरुमा नयाँ भाडादर टाँस्ने कार्य जारी रहेको छ ।
तोकिएको भन्दा बढि भाडा लिएमा प्रहरी कार्यालयको हट लाइन नं. १०० मा फोन गर्न पनि भेटवालले आग्रह गरेका छन् । ई–रिक्साको नयाँ भाडादर १० रुपैयाँदेखि ३० रुपैयाँसम्म रहेको छ । भेटवालका अनुसार भरतपुर उपमहानगरपालिकामा मात्रै साढे सात सय भन्दा बढि ई–रिक्साहरु रहेका छन् ।