चितवनकी तुलसालार्ई अन्तराष्ट्रिय पुरस्कार

चितवन, असोज ३० । ग्रामीण जीवनको महिला सिर्जनशीलतामा नमुना काम गरेको भन्दै चितवनकी तुलसा ज्ञवालीलाई अन्तराष्ट्रिय पुरस्कार प्रदान गरिएको छ । शनिबार परेको ग्रामीण महिलाको अन्तराष्ट्रिय दिवसको अवसरमा ज्ञवालीलाई राजधानीस्थित कीर्तिपुरमा आयोजित एक कार्यक्रमका बीच त्रिभुवन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा सुधा शर्माले ‘डब्लुडब्लुएसएफ अवार्ड’ प्रदान गर्नुभएको हो । स्विजरल्यान्डको ओमन्स वर्ल्ड समिट फाउन्डेसन डब्लुडब्लुएसएफ ले प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवर्द्धक नेपाल नामक संस्थामार्फत चितवनकी ज्ञवालीलाई अवार्ड प्रदान गरेको हो । tulsi-gyawali-and-nirmala-devi-tharu-chaudharyसो अवार्डको राशि एक हजार डलर अर्थात १ लाख ६ हजार रहेको छ । चितवनको भरतपुरमा घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी घरको छतमै तरकारी फलाउन ज्ञवालीले सफल प्रयोग गर्नुभएको छ । उहाँले घरबाट निस्कने फोहर छुट्याएर कुहिने फोहरलाई गड्यौले मल बनाई कसेराबारी या घरको कौसीमै तरकारी फलाउने सफल प्रयोग गर्नुभएको छ । अहिले गाउँका कौसीमा यही विधिबाट तरकारी फल्दै आएको छ । पुनः प्रयोग गर्न मिल्ने फोहोर बिस्कुट चाउचाउका खोल तथा सुतली डोरीहरुबाट आकर्षक ढकी, पैसा ब्याग, टोपी, चप्पल, कलम राख्ने भाँडो, चकटी, झोला, कपसेट, हातेब्याग बनेका छन्। प्राकृतिक विज्ञान सङ्ग्रहालयस्थित स्थानीय अन्वेषण प्रवर्द्धक नेपालका राष्ट्रिय संयोजक प्राध्यापक डा धर्मराज डङ्गोलले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै अन्य महिलालाई समेत पुरस्कारले प्रेरणा मिलेको बताउनुभयो ।
फाउन्डेसनले मुक्त कमैयाको क्षेत्रमा काम गर्ने निर्मलादेवी चौधरीलाई समेत अवार्डका लागि छनोट गरेको छ । नेपालका दुई महिलासहित यो वर्ष विभिन्न देशका गरी नौजनालाई सो पुरस्कारका लागि फाउन्डेसनले छनोट गरेको थियो ।
ग्रामीण जीवनमा सिर्जनशीलतामा लागेर नयाँ अन्वेषणको प्रयोग गरी समाज परिवर्तनमा लागेका महिलालाई यो अवार्ड दिइन्छ । सन् १९९४ मा स्थापना भएको सो अवार्डबाट हालसम्म विश्वका १३० देशका ४२२ जना महिला सम्मानित भइसकेका छन् ।