डेंगुको महामारी फैलन नदिन चितवनमा जनचेतना

चितवन, असोज ३० । पानी पर्ने क्रम नरोकिएकाले लामखुट्टे नहराएको र डेंगुको जोखिम रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार चितवनमा डेंगुको महामारी फैलन नदिन जनचेतना कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।degu
डेंगु प्रभावित ठाउँमा रोकथामका लागि सर्वपक्षीय अन्तक्रिया गरी सबै क्षेत्रलाई परिचालन गर्न जोड दिइएको उहाँले बताउनुभयो । महाशाखाको टोलीले प्रभावित क्षेत्रमा नीजि क्षेत्र, राजनीतिक दल तथा नागरिक समाज मिलेर पानी जम्ने ठाउँ पुर्ने तथा नष्ट गर्ने, सरसफाइ लगायत जनचेतनामूलक कार्यक्रम गरेको छ ।
डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले सकेसम्म पानी जम्मा गरेर नराख्न, राख्नै परे हप्ताको २ पटक परिवर्तन गर्न, शरीर ढाक्ने कपडा लगाउन तथा झुल लगाएर सुत्न जनस्वास्थ्य अधिकृत लामिछानेले आग्रह गर्नुभयो । यस्तै, लगातार ३–४ दिन ज्वरो आए तुरुन्त परिक्षण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
डेंगु संक्रमण भएको व्यक्तिको रगतमा प्लेटलेसको मात्रा १ लाखभन्दा कम भएमा तथा सेता रक्तकोष ४ हजारभन्दा कम हुन्छ । चितवनमा अहिलेसम्म एक सय ६५ जनामा डेंगुको संक्रमण भएको महाशाखाले पुष्टि गरेको छ ।