पूर्व मन्त्री घिमिरेकाे भाइको शव काठमाडौँ पठाइयो

आनन्द पोखरेल
चितवन, २२ असोज । असोज ९ गते चितवनको घोप्टेभीरमा भएको दुर्घटनामा परि हराइरहेका पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरेको भाइ मोहन घिमिरेको शव भेटिएको छ ।
cupqicrvyaa102w

घोप्टेभीरबाट त्रिशुली नदीमा गाडी सहित खसेका घिमिरेको शव १४ दिनपछि शनिबार बिहान तनहूँको देवघाट गाविस वडा नम्बर ४ मा बगही भन्ने ठाउँमा त्रिशुली नदीमा भेटिएको हो । स्थानीय माझीले जुगेडी प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय चितवनको टोली शव लिनका लागि बगही जाँदा मृतकको गोजीमा भेटिएको एटिएम कार्ड र सवारी चालक अनुमति पत्रको आधारमा उक्त शव मोहन घिमिरेको भएको निष्कर्ष प्रहरीले निकालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवरले बताए । असोज ९ गते मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किदै गर्दा पूर्व गृहमन्त्री माधव प्रसाद घिमिरे सवार गाडी पृथ्वी राजमार्गको घोप्टेभीरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको शव भेटिएको थियो ।
त्यसैगरी, सवारी चालक नेपाल प्रहरीका हवल्दार विष्णु राईको उद्धार गरि भरतपुरमा उपचार पछि काठमाडौँ लगिएको थियो भने माधव प्रसाद घिमिरे, मोहन घिमिरे र प्रकाशचन्द्र घिमिरेको अवस्था अज्ञात रहेको थियो । घटना भएकै दिनमा घटनास्थलबाट घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंग रक्षक सशस्त्र प्रहरी नायब निरीक्षक रामचन्द्र कार्कीको शव भेटिएको थियो । उक्त घटनामा परि बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरे र उनका भाइ प्रकाशचन्द्र घिमिरेको खोजी कार्य तीव्र पारिएको चितवन प्रहरीले बताएको छ ।
शनिबार बिहान फेला परिएको मोहन घिमिरेको शव भरतपुर अस्पताल ल्याएर पोष्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको छ । मृतकका आफन्तले उनको शव काठमाडौँमा पोष्टमार्टम गर्ने भनेपछि शवलाई बाकसमा हालेर टिचिङ अस्पताल पठाइएको प्रहरी उपरीक्षक कुँवरले बताए ।