चितवनमा फूलपाती भित्र्याइयो

चितवन, २२ असोज । वडा दसैँको सातौँ दिन चितवनका भगवतीका विभिन्न शक्ति पीठहरुमा बढाईँ सहित फूलपाती भित्र्याइएको छ । चितवनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा बढाईँ गर्दै फूलपाती भित्र्याएका हुन् ।
भरतपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको लंकू भगवतीको मन्दिरमा पूजाआजा गरि भरतपुरमा रहेको नेपाली सेनाको दी फेमस महेन्द्र दल गणको दसैँ घर, भरतपुरको कालिका भगवती र सशस्त्र प्रहरीको हाता भित्र रहेको चितवन भगवतीको मन्दिरमा बढाईँ गर्दै फूलपाती भित्र्याइएको हो । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्याम कोइरालाका अनुसार चितवनका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले लंकू भगवतीमा पुजाआजा गरेपछि देवीका अन्य शक्ति पीठहरुमा बढाईँ गर्दै फूलपाती भित्र्याइएको हो ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत गरि फूलपाति भित्र्याइएको कोइरालाले जानकारी दिए । फूलपाती भित्र्याउने क्रममा नेपाली सेनाको दी फेमस महेन्द्र दल गणका सैनिकहरुले बढाईँ गर्दै दुर्गा भवानीको नाममा सलामी अर्पण गरेका थिए । सुरक्षा निकायले देवी भगवतीलाई शक्तिको स्वरुपको रुपमा मान्दै आएको कारण यसलाई निरन्तरता दिन बढाईँ गर्दै फूलपाती भित्र्याइएको कोइरालाले बताए ।