शान्ति दौडमा धादिङका रिमाल पहिलो

चितवन, २२ असोज । चितवनमा नारायणगढमा शनिबार भएको १८ औँ मौलाकालिका खुल्ला शान्ति दौड प्रतियोगिता–२०७३ मा धादिङका हरि रिमाल पहिलो भएका छन् ।
नारायगढदेखि नवलपरासी, गैंडाकोटको मौलाकालिका मन्दिरसम्मको करिब सात किलोमिटर दुरी २४ मिनेट १६ सेकेन्डमा पूरा गर्दै रिमालले १५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पारेका छन् । साढे चार किलोमिटर समथर र साढे दुई किलोमिटर उकालो बाटो २४ मिनेट २२ सेकेन्डमा पुरा गरेका पाँचथरका भूमिराज राई दोस्रो हुँदै १० हजार रुपैयाँ हात पारे । त्यस्तै, रामेछापका होमलाल श्रेष्ठले उक्त दुरी २४ मिनेट ३५ सकेन्डमा पार गर्दै तेस्रो भएर पाँच हजार रुपैयाँ प्राप्त गरे ।
उक्त शान्ति दौड प्रतियोगितामा डोटीका खगेन्द्र बहादुर भाट चौथो, खोटाङका जीतेन्द्र राई पाँचौँ हुँदै एक÷एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा छैठौँदेखि १५औँ स्थान हासिल गरेका धावकहरुले पाँच÷पाँच सय रुपैयाँ पुरकार प्राप्त गरेका थिए । प्रतियोगितामा नेपालभरीका करिब ६० जना धावकहरुको सहभागिता रहेको थियो ।
१८ वर्ष अगाडि क्लब स्थापनाको समयदेखि नै देशमा शान्ति छाओस् भन्ने पवित्र उद्देश्य लिएर लायन्स क्लब अफ नारायणगढ र लियो क्लब अफ नारायणगढले मौलाकालिका शान्ति दौड प्रतियोगिता गर्दै आएको लायन्स क्लब अफ नारायणगढका अध्यक्ष उमेश पियाले जानकारी दिए ।

.