’अवसर पाए सफल व्यक्ति बन्न सक्छन्’

करुणा देवकोटा
चितवन, २१ असोज । अवसर विहिनहरुलाई अवसर प्रदान गर्ने हो भने सफल व्यक्ति बन्न सक्ने चितवनका विभिन्न संघसंस्थाहरुमा सक्रिय युवाहरुले बताएका छन् ।
बालबालिकाहरुको लागि प्रहरी नागरिक अभियान नेपाल पिटुसिटुमा आश्रित पूर्व सडक बालकहरुलाई आयोजना गरिएको दसैँ विशेष कार्यक्रममा सो कुरा बताइएको हो । ब्रदर्स नेपाल, ब्रदरहुड सिस्टरहुड नेपाल, अशोक युवा क्लब र बेटर चितवन क्याम्पेनका युवाहरुले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् । पिटुसिटु अभियान अन्तर्गत आश्रित ३५ जना पूर्व सडक बालकहरुसँग दसैँ विशेष कार्यक्रम गरिएको हो ।
दसैँको रौनकता छाइरहेको बेलामा अभिभावकको माया ममताबाट टाढा भई सडकको जीवन बिताएका पूर्व सडक बालबालिकाहरुसँग दसैँ मनाइएको हो । बालबालिकाहरुमा दसैँ तिहार जस्ता चाडपर्वले विशेष महत्व राख्ने हुँदा पनि पूर्व सडक बालबालिकाहरुसँग दसैँ विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बालबालिकाहरुलाई बिहानको खाना खुवाउनुको साथै दसैँको लागि टिसर्ट, पाइन्ट, सर्ट, चप्पल लागयतका आवश्यक सामग्रीहरु पनि प्रदान गरिएको थियो ।
p2c2कार्यक्रमका अवसरमा बालबालिकाहरुले नाचगान गर्दै आफ्नो प्रतिभाहरु पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले चितवनका सडकहरुमा डुल्ने बालबालिकाहरुलाई सफल जीवन दिनको लागि प्रहरीले सञ्चालन गरेको यस अभियानमा सबैको सहयोग र साथको आवश्यकता भएको बताए । सडकमा बरालिएका बालबालिकाको क्षमतालाई बुझेर अगाडि बढ्न उत्प्रेरणा दिँदै यहाँ आश्रित बालबालिकाहरुको शिक्षा दिक्षामा आफूहरु लागि परेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा युवा उद्यमी निर्देश सेढाई, आनन्दपुर राप्राविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु खराल, मेरो मोबाइल कलेक्सनका सञ्चालक राम अधिकारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम ब्रदर्श नेपालका अध्यक्ष अनिल सोतीको अध्यक्षतामा सम्पन्न भएको हो । पिटुसिटु अन्तर्गत रहेका बालबालिकाहरुलाई आवासीय सुविधा सहित अध्ययनको व्यवस्था पनि गरिएको छ ।